खेल

नेपालका सबैभन्दा सफल कप्तान बिराज, जसको सफलता अरुलाई चुम्न गाह्रो छ

विश्वका सर्वाधिक चर्चित फुटबल खेलाडीहरुले पनि राष्ट्रका लागि आफ्नो कप्तानीमा अन्तर्राष्ट्रिय उपाधी दिलाउने सपना हत्तपत्त पूरा गर्न सक्दैनन् । मेसी हुन् या रोनाल्डो अनि नेयमार नै किन नहुन्, क्लबका लागि उनीहरुले जतिसुकै दिए पनि राष्ट्रका लागि दिन सकेका छैनन् ।

खेलको तुलना त नहोला तर नेतृत्वको कुरा गर्दा नेपाली फुटबलका पूर्व कप्तान बिराजा महर्जनले आफ्नो कप्तानीमा तीनवटा उपाधी दिलाउने भाग्यमानी कप्तानका रुपमा उपाधीका साथ खेलबाट सन्यास लिए । यो दुर्लभ संयोग हो ।

गत सोमबार काठमाडौंमा सम्पन्न त्रिदेशीय नेशन्स कपको उपाधीसंगै बिराजले सन्यास लिए । यो उपाधी घरेलु मैदानमा नेपालले ३७ वर्षपछि पाएको उपाधी थियो । त्यसैले पनि यो ऐतिहासिक ठहरियो ।

बिराज नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन अनि सर्वाधिक उपाधि जित्ने कप्तान पनि उनको नाममा रह्यो । सन् २०१६ मा नेपाली फुटबलको उपाधी त के जीतको समेत खडेरी लागिरहेका बेला उनकै कप्तानीमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जित्यो, त्यसपछि मलेसियामा भएको एएफसी सोलिडारिटी कप । त्यसबीचमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलतर्फ स्वर्ण । यी तीनै उपलब्धिका कप्तान हुन्, तिनै विराज ।

पछिल्लो समय बेन्चमै समय बिताइरहेका बिराजका लागि थ्री नेसन्स कपसंगै सन्यासको घोषणा गरेका थिए र त्यो उपाधीसंगै स्वर्ण अवसरका रुपमा जुर्यो । फाइनलममा बंगलादेशविरुद्ध सब्स्टिच्युटका रूपमा उनी ९० औं मैदानमा प्रवेश गरे र अन्तिम पटक नेपालका लागि खेले । उनले यसक्रममा नेपालका लागि कीर्तिमान ७३ औं पल्ट खेले ।

जीवनको अन्तिम खेल केही मिनेटको भए पनि उनको सन्यास स्वर्णिम रह्यो । उपाधीसहित सन्यास लिन पाउने शौभाग्य हरेक खेलाडीलाई मिल्दैन । तर बिराज त्यस्तै केही भाग्यमानी कप्तानका रुपमा दरिए । उनको विदाईमा खेलाडी तथा दर्शकहरुको तालीका गडगडाहटले सम्मान गर्दै विदाइ गरे ।

सम्बन्धित खबर

Back to top button