राजनीति

दशैँ अगाडि भूमिहीनलाई जग्गा उपलब्ध गराउने सरकारको तयारी

सरकारले देशका भूमिहीन जनतालाई भूमि उपलध गराउने उद्देश्यले गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगले आउँदो दशैं अगावै सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनुभएको छ ।

देशका ७ सय ५३ वटा स्थानीय तहमध्ये ५०४ वटामा कार्यसम्पादन सम्झौतासमेत सम्पन्न गरिएको बताउँदै अध्यक्ष ज्ञवालीले विसं २०७८ को दशैँ अगाडि सबै भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराउन देशका ७७ वटै जिल्लामा आयोगको समिति निर्माण तथा कार्यालयसमेत स्थापना गरेर काम थालनी गरेको बताउनुभयो ।

“भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारले तीनवटै सरकारलाई अधिकार सम्पन्न बनाएको छ”, उहाँले भन्नुभयो, “भूमिहीन व्यक्तिको पहिचान, सत्यापन र प्रमाणीकरणका लागि आयोग स्थानीय सरकारसँग सम्झौता गरेर अगाडि बढेको छ ।”

यसअघि सङ्कलन गरिएका तथ्याङ्कले काम नदिएकाले यस वर्ष आयोगले तथ्याङ्क सङ्कलनलाई व्यवस्थित गर्ने काम गरेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । “भूमिहीनलाई जग्गा उपलब्ध गराउन हालसम्म १३ लाख बढीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न गरिसकिएको छ”, उहाँले भन्नुभयो, “हामीले १५ लाख भूमिहीन छ भन्ने अनुमान गरेका थियौँ तर, २१÷२२ लाख आउने सम्भावना देखिएको छ ।”

केही दिन पहिले जिल्लामा गठित समितिको गतिविधि अनुगमन गर्न खोटाङ आउनुभएका आयोगका अध्यक्ष ज्ञवालीले तराई र भित्री मधेशमा धेरै समस्या रहेको बताउनुभयो । “पहाडी भूभागमा बसोबास गर्ने आदिवासी जनजातिमा पनि समस्या त देखिन्छ”, उहाँले भन्नुभयो, “मुख्य समस्या भनेको आफ्नो थातथलो छोड्न नमान्नु देखिएको छ ।”

भूमिहीनलाई आयोगले सेतो र रातोगरी दुई किसिमको कार्ड वितरण गर्ने काम गरिरहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । “सेतो अव्यवस्थित बस्ती र रातो कार्ड सुकुम्बासीले भर्नेछ”, उहाँले भन्नुभयो, “आफ्नै वडामा गएर फाराम भर्नुपर्नेछ । विवरण हटाउन सकिन्छ तर, भर्न सकिन्न । यदि गलत व्यक्तिले फाराम भरेमा रु २५ हजार जरिवाना र गलत विवरण दिनेलाई एक वर्ष जेल र रु एक लाखसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।”

कुनै व्यक्तिले पहुँचका भरमा फाराम भरेर जग्गा लिएको खण्डमा आयोगले नेपाल सरकारका नाममा फिर्ता गराउने उहाँले बताउनुभएको छ । आयोगले वितरण गर्ने लालपूर्जा श्रीमान्÷श्रीमतीको नाममा संयुक्त हुने पनि अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button