राजनीति

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुँदै

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुनेछ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ ।

औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ ।

यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको पहिला दिन शुक्रबार प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको थियो। त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

त्यस्तै शुक्रबार साँझ प्रधानमन्त्री देउवासँग भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।

भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँको यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभको थियो ।

प्रधानमन्त्री देउवा शुक्रबार चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर भारत प्रस्थान गर्नभएको थियो । प्रधानमन्त्री देउवा आइतबार बनारस भ्रमण सकेर सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.