राजनीति

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न समकक्षी नरेन्द्र मोदीलाई प्रस्ताव

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यहाँस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उहाँहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गर्नुभएको थियो ।

दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे विचारविमर्श गर्नुभएको थियो ।

नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री र सहयोगको विशेष सम्बन्धलाई थप प्रगाढ एवं सुमधुर बनाउने नवीकृत अवसरका रुपमा दुई देशका प्रधानमन्त्रीको यो भेटवार्तालाई लिइएको छ ।

बहुपक्षीय सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति भेटवार्ता फलदायी रहेको बताइएको छ । त्यसअघि द्विपक्षीय भेटका लागि प्रधामन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई हैदरावाद हाउसमा स्वागत गर्नुभएको थियो ।

भेवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताउनुभएका छ । प्रधानमन्त्री देउवाले सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गर्नुभएको छ ।

सोही पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको र दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button