संक्रमित २१ वर्षीय युवा झण्डै एक हजारजनाको भीडमा २८ घण्टा संगै थिए

शनिबार कैलालीकी एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरियो । यसअघि विदेशबाट आएकाहरुमा मात्र संक्रमण देखिएकोमा यसपटक नेपालमै रहेकामा संक्रमण भयो ।
भारतमा काम गरेर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवकमा क्वारेन्टाइनमा बसिसकेको अवस्थामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
झन्डै २८ घण्टा नाकामै रोकिएको भीडमा सुदूरपश्चिम प्रदेशको मात्रै नभई अरु प्रदेशका गरी १९ जिल्लाका ९ सय १४ जना थिए । त्यही भीडमाथिए कोरोना संक्रमित लम्कीका २१ वर्षीय युवा ।
मुम्बईबाट घर फर्किएक उनलाई १३ दिनपछि कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो । भारतबाट फर्किएका विभिन्न जिल्लाका व्यक्तिहरुसंग उनले नाकामा झन्डै २८ घण्टा बिताएका थिए ।
कोरोना सङक्रमित पुष्टि भएको व्यक्तिले नाकामा ठूलो भीडको बीचमा एक रात एक दिन बिताएको कैलाली प्रहरीले पनि पुष्टि गरेको छ । यो तथ्य बाहिरिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको खतरा र त्रास झनै बढेको छ ।
सङ्क्रमित व्यक्तिसँगै भीडमा रहेका व्यक्तिहरु विभिन्न जिल्लाको कुना–कुनासम्म पुगिसकेका छन् । उनीहरु सबैलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने आदेश दिइएको थियो । तर, सबै व्यक्ति क्वारेन्टाइनमा नरहेको बताइन्छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म चार जनामा कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ । तीन कैलाली र एक कञ्चनपुरका व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको हो । जसमा भारतबाट आएका दुई र एक जना युनाइटेड अरब इमिरेट्सबाट आएका व्यक्ति रहनु भएको छ । अर्का एक जनामा भने बाहिरबाट कोरोना सङ्क्रमित भएर आएका व्यक्तिबाट सरेको छ ।
उनीहरूले आफ्नो देशमा प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेपछि स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न दिएको थियो । उनीहरूलाई गाडीमा राखेर सम्बन्धित पालिकाहरूमा पठाइएको थियो ।
प्रतापपुरका यी युवा पनि तिनै गाडीमध्ये एक गाडीमा चढेर घर पुगेका थिए र घर आएर उनी केही समय दाइको घरमा बसेका थिए । लम्कीचुहा नगरपालिकाका एक कर्मचारीका अनुसार उनलाई चैत १२ गतेदेखि क्वारेन्टाइनमा ल्याइएको थियो ।
ती युवकसहित क्वारेन्टाइनमा रहेका ४४ जनाको स्वाब परीक्षणका लागि तीन दिनअघि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो । ४४ जनाकै स्वाब परीक्षणका लागि पठाइएकोमा २१ वर्षीय एक युवकमा मात्रै पोजेटिभ देखिएको हो । अब भारतबाट आएकाहरूलाई १४ दिन क्वारेन्टाइनमा राखिने तयारी भैरहेको छ ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदीश जोशीकाअनुसार त्यसबेला संक्रमित युवकको परिवारका सबै सदस्यको नमुना संकलन गरिएको थियो । ३४ वर्षीया महिलाबाहेक अरुको रिपोर्ट आउन बाँकी रहेको छ ।
स्मरणीय के छ भने ती महिलालाई क्वारेन्टाइनबाट फर्काइएको थियो ।