"संसदको अंगगणितले राष्ट्रिय आवश्यकतासंग तादाम्यता राखेन"

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आवश्यकतासँग संसदको अङ्क गणितले तादात्मयता नराखेको र त्यो तादात्मयता राख्न कोसिस सफल नभएपछि ताजा जनादेशमा जानुपर्ने भए पनि त्यस्सो हुन नसकेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो– “राष्ट्रिय आवश्यकतासँग अङ्क गणितले तादात्मयता राखेन, हामीले तादात्मयता राख्न कोसिस ग¥यौ, भएन । तब ताजा जनादेशमा जानु पथ्र्यो”, उहाँले भन्नुभयो, “मेरो विचारमा फेरि पनि ढिलोचाँडो ताजा जनादेशबाट अहिलेको अङ्क गणितमा हेरफेर नगरी, अनुकूल अङ्क गणितबिना देश अगाडि जानै सक्दैन । त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ । देशको विकास र राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्ने खालको अंक गणित निर्माण गर्नुपर्दछ ।”
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा उहाँले संसद पुनःस्थापनायता हरेक दिन हरेक नेताले आफ्नो राजीनामा माग्ने तर आफूले एकपटक राजीनामा दिने स्पष्ट गर्दै त्यसका लागि आफूलाई दिएको समर्थन फिर्ता लिन चुनौति पनि दिनुभयो ।
उहाँले भन्नुभयो “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन । एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन् । मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि लिँदैनन् । अनि राजीनामा माग्दछन् । समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि ।”
त्यस क्रममा उहाँले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने पनि बताउनुभयो । “कहिले देशको आवश्यकता र संसद्को गणित फरक पर्छ । कहिले कृत्रिम ढङ्गले केही मानिसले संसदीय गणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्” ।
उहाँले भन्नुभयो, “संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधँै प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अङ्क गणितमा यदि अनुपयुक्त खेल भइरहेको छ भने त्यसले अनुपयुक्त आकार लिइरहेको छ । त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ । त्यस्तो अवस्थामा संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ । त्यो राजनीति हो ।”
प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकताअनुसार संसद्को अङ्क गणित बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले यदि संसदीय अङ्क गणितले देश, जनता र विकासको आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्ने जिकिर गर्नुभयो । “संसद्लाई देशको आवश्यकताअनुसार अङ्कगणितीय बनावटमा लैजानुपर्दछ । संसदीय अङ्क गणितलाई भरसक मिलाउने प्रयास गर्नुपर्दछ” उहाँले भन्नुभयो, “यदि व्यवस्थापन भएनन् भने ताजा जनादेशमा जानुपर्दछ ।”
उहाँले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले देशको आवश्यकतासँग अङ्क गणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूले संसद् विघटन गरेको प्रष्टीकरण दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्