राजनीति

चितवन-२ मा १२ दलसहित २४ जनाको उम्मेदवारी दर्ता

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि २४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार १२ वटा राजनीतिक दलका उम्मेदवार र १२ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

राजनीतिक दलतर्फ लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) का रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल मजदुर किसान पार्टीका सानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैसी, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै जयजन्मभूमि पार्टीका प्रेमबहादुर खड्का, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका छत्रकुमार पाख्रिन, मङ्गोल नेश्नल अर्गनाईजेशनका टेकबहादुर तामाङ, राप्रपाका जीवलाल पुरी, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका राजेश आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको उहाँले जानकारी दिनुभयो ।

यस्तै स्वतन्त्रतर्फ सूर्य श्रेष्ठ, विक्रम श्रेष्ठ, डा भोजराज वगाले, सुबास परियार, सुदर्शन कँडेल, ताराप्रसाद पौडेल, भाष्करचन्द्र न्यौपाने, सन्तोष थापा, अम्बिका भट्ट, लक्ष्मिमायाँ कोइराला, रामकृष्ण ओझा र चक्रपाणि न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सहायक निर्वाचन अधिकृत आचार्यका अनुसार २१ गते मङ्गलबार उजुरी दर्ता, २२ गते उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन, २३ गते उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न वितरणको काम हुनेछ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा एक लाख २४ हजार ६९५ जनाले मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.