जन सरोकार

कोरोना संक्रमण फैलिने खतरापछि बिस्केट जात्रामा यस वर्ष पनि रोक

जिल्ला प्रशासन कार्यालय भक्तपुरले यस वर्षको बिस्केट जात्रा मनाउन रोक लगाएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला कोरोना संक्रमण फैलिने खतरा बढेपछि जात्रामा यस वर्ष पनि रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाइएको जानकारी दिंदै रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम नगर्ने निर्णय भएको बताउनुभयो ।

प्यागोडा शैलीको तीनतले अग्लो भैरवको रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले जात्राको भिडले कोभिड–१९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकाले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने काम गत वर्षजस्तै नगर्ने बताउनुभयो ।

गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ ।

सम्बन्धित खबर

Back to top button