जल/वातावरण

काठमाडौं प्रवेश गर्न एन्टीजेन अनिवार्य, क्वारेन्टाइन/आइशोलेसन दुरुन्त राख्न निर्देशन

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीब्रगतिमा बढ्दै गएपछि नेपालमा यसको जोखिम उच्च रहेकाले अब बाहिरी जिल्लाबाट आउने हरेकलाई एन्टीजोन परीक्षणपछि मात्रै काठमाडौं उपत्यका प्रवेश गराइने निर्णय जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले गरेको छ ।

त्यसै गरी संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आआफ्नो नगरपालिकाभित्र एकएक वटा आइशोलेसन र क्वारेन्टाइनको व्‍यवस्थापन गर्न समितिले अनुरोध गरेको छ ।

त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ ।

त्यसै गरी बैठकले एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ ।

समितिले कोरोना संक्रमण रोकथामका लागि सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्‍चालन गर्न समितिले आग्रह गरेको छ ।

सम्बन्धित खबर

Back to top button