कोरोना रोकथाम तथा औषधि लगायतका लागि ४८ अर्ब बजेट सुरक्षित

सरकारले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि औषधि व्यवस्थापन र रोकथाम लगायतका सबै खर्चमा हालसम्म रु पाँच अर्ब १७ करोड ७२ लाख ८३ खर्च गरेको तथा आगामी दिनमा औषधिलगायतका लागि ४८ अर्ब बजेट सुरक्षित राखिएको जानकारी दिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सो कुरा बताउनुभएको हो ।
मन्त्री त्रिपाठीले कोरोना रोकथामका लागि आगामी असार मसान्तसम्ममा ६० लाख भन्दाबढी जनतालाई खोप प्रदान गरिसक्ने योजना रहेको बताएँदै खोप खरिद र प्राप्तिका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै उहाँले भारतबाट १० लाख र चीनबाट आठ लाख डोज खोप प्राप्त गरिसकेको बताउनुभयो ।
सरकारले थप सुपथ मूल्यमा २० लाख डोज खरिद गरिसकेको तथा प्राप्त खोपलाई प्राथमिकताका आधारमा सर्वसाधारणलाई उपलब्ध हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विश्वमै आप्रवासीलाई खोप प्रदान गर्ने नेपाल पहिलो मुलुक हो । पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणमा लिनु पर्ने खोप भण्डारणमा सुरक्षित छ ।”
मन्त्री त्रिपाठीले महामारी सङ्क्रमण रोकथाम गर्ने सन्दर्भमा चार लाखभन्दा बढी व्यक्तिलाई विगतमा क्वारेन्टिनमा राखिएको तथा सङ्क्रमण रोकथाममा प्रदेश र स्थानीय तहबाट राम्रो भूमिका निर्वाह भएको जानकारी दिइयो । हाल मुलुकमा ४८ स्थानमा सरकारी र ३६ गैरसरकारी स्थास्थ्य केन्द्रमा परीक्षण प्रयोगशाला स्थापित गरिसकिएको बताउनुभयो ।
त्यस्तै उहाँले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सर्तकता र सावधानी आवश्यक भए पनि आतङ्कित भने नहुन सबैसगँ आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्