गण्डकीप्रदेश

जुनसुकै गठबन्धन गर्दा महिला अधिकार सुनिश्चित हुनुपर्दछ

सत्ता गठबन्धनबीच चुनावमा पनि गठबन्धन गर्ने सहमति भएसंगै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठबन्धनमा महिला अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले गठबन्धनका नाममा महिला अधिकार कुण्ठित गर्न नहुने बताउनुभयो ।

निर्वाचनमा गठबन्धन गर्ने पार्टीबीच प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदमा एकजना महिला हुनुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले भन्नुभयो, “संवैधानिक हक अधिकारका लागि महिलाले सङ्गठित पार्टीमा सशक्तरूपमा भूमिका खेल्नुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।

संवैधानिक अधिकारअनुसार मुलुकका सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता गराउन राजनीतिक पार्टी एवं निर्वाचन आयोगको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्दै उपसभामुख शर्माले त्यसका लागि महिला नेतृत्व विकास र उद्यमशील हुँदै आर्थिकरूपमा सशक्त भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य विकास लम्सालले समतामूलक समाज निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिँदै प्राप्त अधिकारलाई आधार बनाएर थप अधिकारका लागि महिला सङ्गठित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जिल्ला समन्वय समितिका कास्कीका उपप्रमुख सावित्री भण्डारीले कर्तव्य पूरा गरेर अधिकार खोज्नुपर्ने बताउँदै स्थानीय निर्वाचनमा महिलालाई अगाडि बढाउन सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय महिला आयोगका सदस्य सावित्रीकुमारी शर्माले आयोगले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विभेदको अन्त्य गर्दै महिला सशक्तीकरणमा जोड दिँदै आएको जानकारी दिनुभयो । आयोगले सातवटै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै उहाँले नीतिगत तहमा महिलाको पहुँच बढाउने उद्देश्य कार्यक्रमको रहेको बताउनुभयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले लैङ्गिकसम्बन्धी सवाल र निर्वाचन आयोग पोखराका होमनाथ पराजुलीले निर्वाचन र महिला सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थामा आबद्ध अधिकारकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको आयोगका शाखा अधिकृत वर्षा ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.