राजधानी तथा सुगम क्षेत्रमा मात्र खुलेका मेडकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले अब देशका कुनै एक जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ शल्यचिकित्सा सेवा दिने जिम्मा लिनुपर्ने भएको छ ।

यसका लागि मेडिकल कलेजहरु राजी भएको र केही मेडिकल कलेजसँग सम्झौता भैसकेको छ भने केही प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा २० र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको दफा ४० अनुसार जिल्ला अस्पतालमा गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउन मेडिकल कलेज र प्रतिष्ठानहरुसँग सम्झौता सुरु भएको हो ।
उहाँले मेडिकल कलेज तथा प्रतिष्ठानले जिम्मा लिएका जिल्लाहरुमा कम्तिमा एक जना शल्यचिकित्सक, एक जना प्रसूती तथा स्त्री रोग विशेषज्ञ र एक जना एनेस्थेसियोलोजिष्ट तथा एनेस्थेसिया सहायक जाने जानकारी दिनुभयो ।
मन्त्रालयकाका अनुसार त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसले सिन्धुपालल्चोक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले धादिङ अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ सेवा दिने सम्झौता गरेका छन् ।
त्यसै गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गोरखा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दमौली अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धनकुटा अस्पतालमा विशेषज्ञ सेवा दिनेछन् ।
धुलिखेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले सिन्धुली अस्पताल, चितवन मेडिकल कलेजले लमजुङ अस्पताल, कलेज अफ मेडिकल साइन्सेज भरतपुरले मध्यविन्दु अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पले गुल्मी अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पतालले तेह्रथुम अस्पताल, युनिभर्सल मेडिकल कलेजले रुकुम अस्पतालमाा सेवा दिनेछन्
काठमाडौं मेडिकल कलेजले रामेछाप अस्पताल, किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले दोलखा अस्पताल, नेपाल मेडिकल कलेजले खोटाङ अस्पताल, मणिपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्वत अस्पताल, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले पाँचथर अस्पताल, गण्डकी मेडिकल कलेजले स्याङ्जा अस्पताल, नेसनल मेडिकल कलेजले गौर अस्पताल, नेपालगञ्ज मेडिकल कलेजले जाजरकोट अस्पतालमा गएर सेवा दिनेछन् ।
प्रतिक्रिया राख्नुहोस्