भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाईटन्सले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै गुजरातले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।
यता दिल्लीको भने यो लगातार दोस्रो हार हो । दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । दिल्लीका लागि कप्तान डेविड वार्नरले ३७ रन बनाए भने अक्षर पटेलले ३६ रन जोडे । त्यस्तै सरफराज खान ३० रन बनाई आउट भए भने तथा अबिशेक पोरेलले २० रन बनाए ।
गुजरातका लागि मोहम्मद सामी र राशिद खानले समान ३-३ लिए भने अल्जारी जोशेफको भागमा २ विकेट रह्यो । १६३ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
गुजरातका लागि साई शुदर्शनले ६२ रनको अर्धशतकीय पारी खेले भने डेबिड मिलर ३१ रनमा अविजितरहे । यस्तै विजय शंकर २९ रन बनाई आउट भए भने ऋद्धिमान शाह र शुभमन गिलले समान १४-१४ रन जोडे । दिल्लीका लागि एनरिक नोर्कियाले २ विकेट लिए भने खलिल अहमद र मिचेल मार्शको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै गुजरात २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा भने समान खेलमा जितविहिन दिल्ली आठौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज पौने आठ बजे हुने खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स भिड्दै छन् ।




प्रतिक्रिया राख्नुहोस्