बिचार

राष्ट्रपतिले खनालको ढोका चिहाउनुको साटो यसो गरेको भए…

तारा सुवेदी

राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)का संस्थापन पक्षका नेता भनिँदै र मानिँदै आइएका के.पी ओलीका काम, कुराधारासँग असन्तुष्ट भई छुट्टै संघर्षरत समूहको नेता झलनाथ खनालको ढोकामा पुग्नुभएछ । २२ गते चैत्र साँझको नेपाल टोलिभिजनहरुको समाचार हेरे, सुनेपछि त्यो कुरा थाहा भयो । आज विद्यादेवी सर्वाेच्चतम र दलगत राजनीतिबाट माथिको सर्वमान्य पदमा पुग्नुभएको, सम्मानित व्यक्ति हुनुहुन्छ । वहाँ आफैं वा कुनै व्यक्तिको दया, कृपा वा अनुकम्पाले मात्र उक्त पदमा पुग्नु भएको होइन । वहाँलाई त्यहाँ पु¥याउन दिवंगत मदन भण्डारीको शहादतदेखि नेकपा एमालेका लाखौं कार्यकर्ताका, नेता माधव नेपाल, झलनाथ खनाल, केपी ओलीहरुको मात्र पनि होइन । हिजो र आजको संसदमा भए रहेका सबै दलका नेता (सांसद) हरुको समेत योगदान रहेको छ । यो कुरा राष्ट्रपति निर्वाचनबारे पढे, बुझेका हरेक नेपालीसम्मलाई थाहा छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी असाधारण विनयी, भद्र, सुशील, कृतज्ञ, विवेकशील, स्वर्गवासी मदन भण्डारीका अन्तरङ्ग विश्वासी र अप्रचारित मित्रहरुलाई समेत जहिले जुन पदमा आफू पुगेको बेला पनि नभुल्ने, नविर्सने, वेवास्ता नगर्ने, विरलाकोटीको उदात्त मानवीय स्वभावको पर्याय र प्रतीक हुनुहुँदो रहेछ” । पंक्तिकारले पनि व्यक्तिगत रुपमा धेरै पटक राम्ररी देखे जाने र अनुभव गरेको छ । संभवत त्यही कृतज्ञता र विनयशीलता अभिव्यक्त गर्न लामो समय पहिलेदेखि दुईपटकसम्म आफुलाई शितल निवास पुर्याउनेसम्ममा ठुलो योगदान गरेका व्यक्तित्वको घर निवासमा पुग्ने सन्दर्भमा विद्यादेवी भण्डारी खनाल निवासको ढोकामा पुग्नुभएको थियो होला ।

त्यो सम्पूर्णतः सकारात्मक वा उज्यालो पक्ष देखिँदा देखिँदै पनि समय, सन्दर्भ, परिस्थिति परिवेशले “राष्ट्रपतिको खनाल निवास गमन”लाई अहिले अर्कै अर्थ, सन्दर्भ र परिप्रेक्षमा प्रस्तुत गरियौं भन्ने आम जनदृष्टिकोण बन्न पुगेको धेरैलाई आभास भएछ । त्यसैले २२ गतेको नयाँ पत्रिकामा “एमाले विवादमा राष्ट्रपति भण्डारीको चासो : खनालको घरमै पुगेर पार्टी एकतावद्ध बनाउने भूमिका खेल्न आग्रह” शीर्षक, उपशीर्षक दिएर समाचार छापियो ।

त्यसले “मौजूदा नेपालको संविधानको भाग ६, धारा ६१ र सो अन्तर्गतका विभिन्न चारवटा उपधाराहरुले परिसीमित गरेका नेपालका राष्ट्रपतिले राज्यले कोरिदिएको लक्ष्मण रेखाको स्वयंले हेक्का राख्न नसकेको हो ? अथवा अधिसंख्यक सचेतवर्ग, समुदायदेखि गाउँघरका चिया र रक्सी पसल मात्र नभई राजधानीका महँगा होटल र वारसम्मका सहभागीहरुले भन्दै आएको नेकपा एमालेका अध्यक्ष एवं वर्तमान सरकारको प्रमुख के.पी. ओलीले हिजोसम्मका आफ्ना समकक्षी र समवयीमात्र नभई झण्डै डेढ दशको अत्यन्त संवेदनशील र संकटग्रस्त कालखण्डमा पार्टीको नेतृत्व गर्दै सधैँ जसो टाउकोमा कात्रो बाँधेर कहिले लखनउ र कहिले सिलगढी पुगेका ने.क.पा. एमालेका तत्कालीन महासचिव एवं वरिष्ठ नेता माधव नेपाल लगायत नेताहरुलाई पार्टीबाट बाहिर धकेल्दै गर्दा आफै संकटको भूमरीमा पर्दै गए । त्यसपछि विद्रोही वन्दै गएका नेताहरुको एकता तोड्न महाभारतका कृष्णदेखि रोमन सम्राट सिकन्दर महान्, अंग्रेज शासकहरु, चाणक्य (कौटिल्य) एवं मेकियावेवीसम्मले अख्तियार गर्दैआएको “फुटाऊ र राज गर” र साम, दान भेद, दण्ड” नीति अनुशीलनरत प्रधानमन्त्री केपीको सत्ता वचाइदिन राष्ट्रपति विद्या भण्डारी खनाल निवास पुग्नु भएको हो ? त्यो त आगामी दिनमा आम नागरिकले नै देख्ने, बुझ्नेछन् ।

तर हिजो (सन् १९८० को दशक) सम्म विश्वका साम्राज्यवादी, पुँजीवादी, नव उपनिवेशवादीको देहमाथि लोकतन्त्र, प्रजातन्त्र, मानवाधिकारको चोंगाधारी पश्चिमी शक्तिसँग पौठेजोरी खेल्दै आएको त्यो कम्युनिष्ट आन्दोलन आज रक्षात्मक स्थितिबाट आत्मसमर्पणको बाटो समाउँदै विसर्जन र विलुप्तिको अवस्थामा पुग्यो, कसरी ? (दर्शन, सिद्धान्त, विचारधाराको असान्दर्भिकताको कारणले हो कि, त्यसको सर्वाेच्च नेतृत्व गर्ने व्यक्तिको व्यक्तिगत महत्वाकांक्षाका लागि पार्टीलाई नै भडखारोतिर धकेल्दै खसाउँदै जाने प्रवृत्ति नै मुख्य कारण थियो ?) यदि माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा नै अनुपयुक्त र असान्दर्भिक भइसकेको हुन्थ्यो भने विश्वकै सबैभन्दा ठूलो र “निकट भविष्यमा नै सर्वाधिक शक्तिशाली र विकसित राष्ट्र हुने” प्रक्षेपण गरिएको जनगणतन्त्रवादी चीन, उत्तर कोरिया, भियतनाम लगायतका कैयन् देशबाट कम्युनिष्टहरुको साझा झण्डा (हसिया–हथौडा अंकित रातो झण्डा) हटिसकेको, हराई सकेको हुन्थ्यो ।

त्यति मात्र होइन । नेपालीहरु आर्थिक र समृद्धिका हिसावले संसारकै गरिब र विपन्नतम मुलुकहरुको सूचीबाट कागजी रुपमा हट्दै हटाइदै गरेको भए पनि राजनीति सचेतनाका आधारमा विश्वका अन्य शक्तिशाली, सम्पन्न र समृद्ध मुलुकका नागरिकसितका तुलनामा किमार्थ कमजोर छैनन् । संभवतः बढी सचेत नै जानिएलान । त्यस्ता सचेत आम नागरिकले “विश्वबाटै अस्ताचलमा पुगेर डुब्दै गरेको” भनेर भनिँदै आइएको कम्युनिष्ट पार्टीलाई झण्डै दुइतिहाई लोकप्रिय मत र अत्यधिक सदस्यलाई सार्वभौम संसदमा पठाई, विश्वको सर्वाेच्च शिखरमा कम्युनिष्ट झण्डा जुन फहराए त्यो कुनै संयोग थिएन । वरु “प्रयोग थियो होला” भन्नसम्म सकिएला ।

यस्तो अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेश परिस्थितिमा “नेकपा एमालेको नेतृत्वको वेडा पारलगाउने” जमर्काे गर्दै नेपालको शासन सत्ता हत्याएका नेता के.पीं ओलीले साह्रै संवेदनशील, सजग र सतर्कतापूर्वक “आफूले हाँकेको नैय्या” लाई सफलता र कुशलतापूर्वक पार लगाउनेमा नै आफ्नो सम्पूर्ण वुद्धि, वर्कत, विवेक केन्द्रीकृत गर्नु पर्दथ्यो । आफ्नो पार्टीका वरिष्ठतमदेखि सवै तह, तप्कामा बसेर पार्टीका लागि समर्पित नेता कार्यकर्ताहरुमात्र होइन “सम्पूर्ण नेपालीको भाग्य भविष्यको अभिभारा समेत मेरो थाप्लो र मैले हाँकेको वेडाले थाम्नु परेको छ” भन्ने हेक्का राखेको हुनु पर्दथ्यो ।

तर विधिको विडम्वना भन्ने कि, नेपाल र नेपालीको दुर्भाग्य भन्ने ? अथवा विश्व कम्युनिष्ट आन्दोलनको चरित्र र दुर्नियति भन्ने । त्यसरी नेपाल र नेपालीले मात्र नभई विश्वकै कम्युनिष्टहरुले आशा, विश्वास र भरोसा गरेका ने.क.पा. एमालेका नेता के.पी.ओलीलाई के कस्तो शक्ति र तत्वले विंपथगामी (ठेठ शब्दमा भन्नु पर्दा विनाशकालीन दुर्मतिग्रस्त) वनायो । र तीनवर्ष पहिले मात्र सिंगो नेपालको कम्युनिष्ट पार्टीको नेता वनाई सत्तासीन वनाएका प्रचण्ड, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि माधव नेपाल, झलनाथ खनाल, भीम, रावल सुरेन्द्र पाण्डे घनश्याम भूसाल जस्ता एमालेको हिजो र आजको मात्र नभई भोलिको वेडा पार गर्ने क्षमतावान् व्यक्तिहरुलाई मझघारमा पु¥याएर राजनीतिक रुपमा एक एक गर्दै ‘झार्ने र मार्ने’ कुचेष्टा गर्ने मनस्थिति बोकेर अघि बढ्दै हुनु हुन्छ किन? यो एउटा अवोध्य पहेली वा अनुत्तरित काल प्रश्न हुन पुगेको छ ।

धेरैले यसबेला के अनुमान गरेको बुझियो, पाइयो भने “केपी ओलीलाई जुन जुन नेता (नामै लिएर भन्नुपर्दा माथि उल्लेख गरिएका वहाँबाट वहिष्कृत, निरस्कृत र” “निष्काशित” प्रचण्ड माधव कुमार खनाल लगायत) वरिष्ठ र प्रभावशाली नेताहरु माथि खड्गप्रसाद ओलीलाई खड्ग प्रहार गर्न लगाए र सिध्याए मात्र आफ्नो भाग्य, भविष्य देख्नेहरुको उल्क्याई वा उक्साहटबाट के.पी. ओली उल्किन पुग्नु भयो । आफ्नो धरातलभन्दा धेरै माथि पुर्याइएका गोकुल कृष्ण गोपाल जस्ता के.पी. का अन्धभक्तहरु लोक कथाका स्वामी भक्त हर्केका वानरहरुले नै के.पी. ओलीको नाक काट्ने काम गरेर उनलाई संकटको भुमरीमा फसाए” ।

संभवतः यही वा यस्तै आफ्नै कृयाकलापबाट आफू संकटको चव्रmवात (भुमरी) मा परेर निस्सासिँदै र भासिँदै गरेको सत्यवोध गरेर नै आफ्नै कृयालापबाट वहाँलाई अति अनुराग, माया, प्रेम गर्ने– (यसैले कतिले अशोभनीय, अमर्यादित टीका टिप्पणी गर्ने गरेको पनि सुन्नु प¥यो) शितल निवास पुगेर विद्यादेवी भण्डारीलाई गुहार्नुको विकल्प छैन” भन्ने लाग्यो क्यार ! भद्र, सोझी, सौम्य, कृतज्ञ, चरित्रकी प्रतिमूर्ति विद्यादेवीजी महाभारतको युद्ध अवश्यम्भावी देखेपछि कुन्तीले परित्यक्त कर्णलाई पाण्डव पक्षलाई सहयोगका लागि लुकेर विन्तीभाउ गर्न गएको भूमिका निर्वाह गर्दै खनालको ढोकामा पुग्नुभएको देखियो ।

तर वहाँ (राष्ट्रपति) सामु त्यसबेला के.पी.ओलीका वचन वा आग्रहको सम्मान वा संवोधन गर्ने कि आफ्नो (राष्ट्रपतीय) स्थान, मान, सम्मानको हेक्का राख्ने ? एउटा गम्भीर र गहन धर्मसंकट परेको हुनुपर्छ । सायद त्यस स्थितिमा के.पीे.को आग्रह सामु “राष्ट्रपति” निरीह देखियो । त्यसैले “स्वास्थ्य समस्या नभए, नसुनिएका ने.क.पा. एमालेको कम असन्तुष्ट र कम विद्रोही नेताको भूमिका निर्वाह गर्दै आउनु भएका झलनाथको ढोकामा” “पार्टी एकता कायम राख्ने भूमिका निर्वाह गर्न” आग्रह गर्न पुग्नुभयो । यद्यपि त्यसरी गएको (आम सञ्चार माध्यमका अनुसार) भए पनि कुनै ठाउँको पुस्तकालय गएर आएको भनिराख्नु पर्दैनथ्यो ।

त्यसैले वा त्यस्तै कुराले होला महाकवि लक्ष्मीप्रसाद देवकोटाले “झुठो नबोल्नू दिन एक खुलस्त हुन्छ, छिप्दैन सत्य बरु ईश्वर नै हुन्छ । वाङ्गोपनासँग विकारहरु बढाई, कहिल्यै नगर्ने गर आदर आफुलाई” लेख्नु भएको । जेहोस्, त्यस्तो धर्म संकट परेको बेला “राष्ट्रपति”ले भन्दा “विद्यादेवी भण्डारी” ले जेजस्तो निर्णय गर्नुभयो, त्यो वहाँको निजी निर्णय भएकोले थप टिप्पणी नगरौं !

तर ओलीजीमा साँच्चिकै पार्टी एकताको मोहमायाको केही अवशेष बाँकी हुन्थ्यो भने पहिलो प्रहारमा पारिएका वरिष्ठतम नेता “विद्रोही समूहका नेता” माधव कुमारको ढोकामा आफैं पुगेर हिजोको परिस्थितिमा हामीहरुबाट जे भयो गरियो, त्यसको दोषी को ? त्यसको (दोष)को निर्णय निरुपण गर्ने दायित्व भोलिको पुस्तालाई सुम्दिँदै ऐक्यवद्धतासाथ अघि बढौंं” भन्ने अनुरोध आग्रह गरेको सुनिन्थ्यो । अथवा वहाँको मनमस्तिकभित्र जीवन्त “दुर्याेधनी अहं”ले त्यस्तो राजनीतिक महानता र उदारता प्रदर्शन गर्न रोकेको भए पहिले जस्तै सर्वमान्य र सर्वाेच्च पदासीन विद्यादेवी भण्डारीलाई असन्तुष्ट नेताका निवासमा आँचल थाप्न पठाउनुभन्दा शितल निवासमा नै सामूहिक चियापान वा रात्रिभोज आयोजना गरी राष्ट्रपतिसामु “एकता वद्ध भएर जाऊ” भन्ने साहसिकता प्रकट गरिनुपथ्र्याे । त्यो सबैभन्दा विपरीतको गतिविधिले षड्यन्त्र, विभेद, कपटपूर्ण राजनीतिको “नीति”को अनुसिलन गरेको अनुभूति गराउँछ कि गराउन्न ? प्रश्न जोजससँग सम्बन्धि छ सरोकारवाला सबैलाई !

(युगसम्वाद साप्ताहिकबाट)

सम्बन्धित खबर

Back to top button