राजनीति

पत्रकार महासंघको निर्वाचन- स्वतन्त्रता गौण, खोपी र खल्ती पत्रकारिताकै प्रतिस्पर्धा

नेपाल पत्रकार महासङ्घ

नेपाल पत्रकार महासङ्घ

– यादब देवकोटा

नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको नयाँ नेतृत्वका लागि भोलि (चैत्र २५ गते बुधबार) निर्वाचन हुँदैछ । मुलुकको राजनीतिमा भैरहेको तीब्र ध्रुवीकरणका बीच पत्रकारहरु पनि दलीय समर्थनमा उम्मेदवारी दिएर नेतृत्वमा पुग्ने कसरतमा छन् ।

महासंघको केन्द्रीय नेतृत्वका लागि प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा विपुल पोखरेलको नेतृत्वमा प्यानलसहितको उम्मेदवारी परेको छ ।

त्यसै गरी प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा निर्मला शर्माको नेतृत्वमा प्यानल खडा भएको छ । महासंघलाई गैरराजनीतिक बनाउनुपर्ने मुद्दासहित गजेन्द्र बढाथोकीले स्वतन्त्र रुपमा अध्यक्ष पदका उम्मेदवारी दिनुभएको छ ।

केही दशकयता नेपाल पत्रकार महासंघमा चर्को राजनीतिक हस्तक्षेप हुने गरेको छ । यही हस्तक्षेपका कारण स्वतन्त्र रुपमा पत्रकारिता गर्नेहरुको हकहितको मुद्दा गौण बनिरहेको छ । पत्रकारहरु राजनीतिक दलको भातृ संगठनका रुपमा विभिन्न संस्थामा आबद्ध भएर उतैबाट गठबन्धनसहित उम्मेदवारी दिने र नेतृत्वमा पुग्ने गर्दा स्वतन्त्र पत्रकारिताको मर्यादा कायम हुन सकेको छैन ।

पत्रकारहरु जहिल्यै स्वतन्त्र, निर्भिक र चनाखो प्रतिपक्ष हुनपर्नेमा पक्षधरताका कारण विभाजित भएर पक्षपोषण र आलोचनामा समय खर्च गर्ने गरिरहेको अहिलेको सन्दर्भमा नेपाल पत्रकार महासंघको भावी नेतृत्व हत्याउने होडबाजीले पनि अस्वस्थ प्रतिस्पर्धा र धनराशीको चलखेलको सम्भावना नकार्न सकिंदैन ।

वर्तमान सरकारको विपक्षमा मोर्चा कसेर बसेको एमालेको माधव नेपाल समूह, नेपाली कांग्रेस र माओवादी केन्द्र जसरी सरकार ढाल्ने प्रयासमा छन् सोही मुताबिक पत्रकारहरुलाई आआफ्ना उम्मेदवार बनाएर पठाएका छन् । सरकार बचाउने पक्षमा लागेकाहरुले पनि विभिन्न समूहसंग गठबन्धन गरेर साझा उम्मेदवार तय गरेका छन् ।

यसैबाट स्पष्ट हुन्छ कि नेपाली पत्रकारहरु कति स्वतन्त्र छन् भनेर । भारतको गोदी पत्रकारिता जस्तै नेपालमा पनि झोले पत्रकारिता मौलाउँदै गरेको अवस्थामा यसपटकको महासंघको निर्वाचनले त्यसलाई अरु मलजल गर्ने र अस्वस्थ प्रतिस्पर्धाकोलाई अरु उचाइमा पुर्याउने देखिएको छ ।

यति हुँदाहुँदै पनि जुन प्यानलबाट उम्मेदवारी दिए पनि अहिले चर्चामा रहेका कतिपय उम्मेदवारहरु पत्रकारिताको विकास, पत्रकारहरुको हक, हित र अधिकारका लागि निरन्तर लडिरहेका व्यक्तित्व छन् । तर, राजनीतिक चलखेल र दलीय अनि गुटगत आस्थाकाबीच हुने यो चुनावबाट उनीहरु नै चुनिने सम्भावना कति छ ? यो भने केही दिनमै देखिनेछ ।

समाजको ऐनका रुपमा परिचित्र र स्थापित पत्रकारहरु दलीय झण्डा र डण्डा बोकेर मैदानमा उत्रँदा त्यहाँ निष्पक्षता र स्वतन्त्रताको सन्दर्भ गौण हुन पुग्दछ । पछिल्लो समय नेपाली पत्रकारितामा भारतै शैली विकसित भैरहेको छ । पक्षधरताका आधारमा अरुलाई गालीगलौज गर्ने र आफ्नाको तारिफ मात्रै गर्ने परिपाटीले आम जनता भ्रमित छन् ।

के सही हो र के गलत हो भन्ने छुट्याएर जनतालाई सही सूचना दिने दायित्व पत्रकारहरुको हो । राज्यले लुकाएको विषय पनि पत्रकारले खोतलेर उजागर गरी जनतालाई सचेत पार्ने पत्रकारहरु आफैं दिग्भ्रमित भर दल र गुटका नेताको दौराको फेर समाएर प्रतिस्पर्धामा उत्रने वा उनीहरुकै आशीर्वादबाट जिवीकोपार्जन गर्ने हो भने त्यो स्वतन्त्र पत्रकारिता हो भनेर कति मान्न सकिएला ?

सम्बन्धित खबर

Back to top button