एमाले माधव समूहका तीन मन्त्रीको राजीनामा- कर्णाली प्रदेश सरकार अल्पमतमा

कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । मंगलबार सरकारमा रहेका नेकपा एमालेको माधव नेपाल समूहका तीन मन्त्रीले समर्थन फिर्ता लिंदै संयुक्त राजीनामा दिएपछि माओवादीका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो । प्रदेशमा माओवादीको जम्मा १२ सिट छ भने एमालेको २० रहेको छ ।
गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भए पनि माधव नेपाल समूहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आएका थिए ।
कर्णाली प्रदेश सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिनुभएको हो ।
राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाश ज्वालाले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाको प्रभाव कर्णाली प्रदेश सरकारमा परेको बताउँदै एमाले संसदीय दलले सरकारबाट फिर्ता आउने निर्णय गरेपछि त्यसलाई स्वीकार गरेर राजीनामा दिएको बताउनुभयो ।
यसअघि एमाले संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा शाही रहेको दल माओवादी केन्द्रका १२ सांसद छन् भने नेकपा एमाले २० सांसदसहित सबैभन्दा ठूलो दल छ, एमालेबाटै निर्वाचित राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसको ६ र राप्रपाको १ सांसद छन् ।