राजनीति

उत्पादन र स्वरोजगारलाई अगाडि बढाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उत्पादन, रोजगारी, सीप र स्वरोजगारलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) ललितपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले हिजोको गौरवपूर्ण इतिहास भजाएर मात्रै हुँदैन भन्दै अबको पार्टी नेतृत्वले स्थानीय जनताको समृद्धि हासिलमा जोड दिनुपर्ने बताउनुभयो ।

“अब हिजोको गौरवपूर्ण इतिहास भजाएर मात्रै हुँदैन । अब जनताको समृद्धिका लागि काम नगर्ने हो भने राजनीतिक शुभकामना मात्रै सार्थक हुन सक्दैन, हिजो जेलनेल भोग्नुपर्यो, त्यो बेलाको आवश्यकता थियो, अहिले विचार बोकेको आधारमा कोही दण्डित हुँदैन, निर्वासित हुँदैन, जेल जानु पर्दैन । अहिले अवस्था बदलिएको छ । अब राजनीतिक अधिकारका कुराभन्दा पनि समृद्धिको एजेण्डामा एमालेले आफूलाई अगाडि बढाउनुपर्छ, विकास निर्माणको मुद्दामा आगुवाइ गर्दै समृद्धि प्राप्तिका लागि अगाडि बढ्नुपर्छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

नीति र केन्द्रीय नेतृत्वमा विवाद नरहेको उल्लेख गर्दै उहाँले स्थानीयस्तरबाट पार्टीमा कृत्रिम विवाद सिर्जना गरिनु हुँदैन भन्ने धारणा राख्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतको कार्यक्रमको लेखजोखासहित भविष्यको योजना तय गर्दै योग्य नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । वाम एकताको प्रसङ्ग कोट्याउँदै उहाँले विचार मिल्न सकेन भने वाम एकतामात्रै भनेर हुँदैन भन्दै कम्युनिष्टका नाममा दक्षिणपन्थी शक्तिलाई बल पुर्याउनेसँग एकता हुनै सक्दैन भन्नुभयो ।

अहिलेको अवस्था, स्थिति र जनताको चाहनाअनुसारका योजना राजनीतिक प्रतिवेदनमा समेट्न आग्रह गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी जिल्ला नेतृत्वलाई अधिवेशनमा व्यक्त शुभकामनालाई बूढी आमाले आशीर्वाद दिएजस्तो मात्रै नसम्झेर कार्यान्वयन हुनेगरी लाग्न आग्रह गर्नुभयो । जनताले पत्याउने योजना बनाउनुपर्छ भन्नुहुँदै उहाँले जनताको समस्या समेटिने गरी किटान गरेर अगाडि बढ्न र पार्टीमा प्रवेश गरेकाहरूलाई सम्मानजनक अवस्था कायम गर्न आग्रह गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले लोकतन्त्रमा भ्रष्टाचारीको सङ्गत हुँदैन भन्दै लोकतन्त्रले विकास र समृद्धि तथा गतिशीलतालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले पारदर्शी र समृद्ध ललितपुर बनाउने नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अधिवेशनबाट एकताको सन्देश दिने वातावरण तयार होस् भन्नुभयो । पोलिटब्यूरो सदस्य सुशीला नेपालले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा लागेको पार्टीले नेतृत्व चयनमा मात्रै अलमल गर्न नहुने बताउनुभयो । एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले वर्तमानको विश्लेषण गर्दै समृद्ध भविष्यको सपना साकार पार्न अधिवेशन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.