कोरोेना रोकथामका लागि एनआरएनएले डेढ करोड बराबरको सामग्री सरकारलाई दिने
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ को रोकथाम र उपचारका लागि रु डेढ करोड बराबरका आवश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।
सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको गैरआवासीय नेपाली सङ्घ कार्यकारी (एनआरएनए आइइएस) को बैठकले कोभिड–१९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट रु एक करोड ६२ लाख बराबरको सामग्री खरिद गरी सरकारलाई हस्तान्तरण गर्ने निर्यण गरेको हो ।
उक्त सहयोग हस्तान्तरणपछि उठ्ने रकम भने विदेशमा नै बस्ने नेपालीको सहयोगका लागि राहतस्वरुप खर्च गरिने सङ्घले जनाएको छ । सङ्घले कोरोनाको नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सहयोग गर्न विश्वभरका नेपालीमाझ आह्वान गर्दै आएको छ । बैठकले सङ्घ क्रियाशील सबै क्षेत्रमा कोभिड–१९ का विरुद्ध लड्न समिति बनाएर, नेपालीलाई सहयोग गर्न, भएका गतिविधि र घटनासमेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी)लाई निर्देशन दिएको छ ।
यसैगरी नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण सङ्घसंस्था र प्रतिष्ठित तथा सम्बन्धित व्यक्तिको समेत प्रतिनिधित्व हुने गरी समिति बनाउने निर्णयसमेत गरेको छ । सोही समितिले सहयोग र उद्धारका लागि काम गर्न नेपाल सरकारसँग प्रस्ताव गर्नेछ । यसका लागि पहल गर्न सङ्घका अध्यक्ष पन्तलाई जिम्मेवारी दिएको सङ्घका सूचना तथा सञ्चार उपसंयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।
एनसिसी साइप्रसको नेपालीलाई राहत ‘प्याकेज’
यसैबीच, गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) साइप्रसले कोरोना भाइरसका कारण अप्ठयारोमा परेका त्यहाँ निवासी नेपालीलाई खाद्यान्नलगायत उपभोग्य वस्तुसहितको राहत ‘प्याकेज’ दिने भएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा साइप्रसमा रहेका नेपालीलाई त्यहाँस्थित नेपाली नियोगको रहोबरमा राहत वितरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
कोरोना भाइरसको रोकथाम तथा निराकरणका लागि साइप्रसले अप्रिल १३ सम्मका लागि लकडाउन घोषणा गरेको छ । लकडाउनको अवस्थामा नेपाली कामदार र विद्यार्थीलाई खाद्यान्नलगायत समस्या परेको सङ्घले जनाएको छ । एनआरएनए साइप्रसलगायत त्यहाँ रहेका स्थानीय संस्थाले अतिजोखिममा परेका विद्यार्थी तथा आयस्रोत नभएका नेपालीलाई लक्षित गर्दै राहत प्याकेजको घोषणा गरेको छ ।
राहत प्याकेज अप्रिल ८ तारिख बाटै वितरण गरिने छ । राहत प्याकेजमा चामल, दाल, चाउमिन, आलु, प्याज, तेल, सोयाविनलगायत छन् । अतिजोखिममा परेका विद्यार्थीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् साइप्रसको फेसबुक म्यासेन्जरमा आफ्नो सबै विवरण पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्