कोरोना संक्रमण मानवबाट जनावरमा– तेस्रो चरणमा प्रवेश गरे रोक्न असम्भव
चीनको वुहानमा चमेरोबाट मानिसमा संक्रमण भएको अनुमान गरिएको कोरोना भाइरस संक्रमण अमेरिकासम्म पुग्दा मानिसबाट जनावरमा सरेको पाइयो । अमेरिकाको एउटा चिडियाखानाको बाघमा कोरोना संक्रमण भएको पाइएपछि यसको चुनाति अरु थपिएको छ ।
कोरोना संक्रमणको तीन चरण हुन्छन्, पहिलो चरणमा एक व्यक्तिमा सर्ने, त्यसपछि उबाट अर्को स्थानको व्यक्तिमा र त्यसपछि स्थानीयमा संक्रमण फैलिन सुरु गरेपछि यसले महामारीको रुप लिनेछ । युरोप तथा अमेरिकामा भएको यही हो ।
नेपालमा कोरोना संक्रमण विदेशबाट आएकाहरुमा मात्रै देखिएकोमा गत शनिबार कैलालीमा एक स्थानीय महिलामा संक्रमण भएका पुष्टि भएपछि कोरोना संक्रमणको दोस्रो चरणमा नेपाल प्रवेश गरेको छ । भारतबाट आएका एक व्यक्तिबाट ती महिलामा संक्रमण भएको पुष्टि भएपछि अहिले सो क्षेत्रमा त्रास बढेको छ ।
सुदूरपश्चिम मात्र हैन सिंगो देशमा यसैगरी कोरोना संक्रमण बढिरहेको त छैन भन्ने चिन्ताकाबीच सरकारले तेस्रो चरणको लकडाउन घोषणा गरेर संक्रमण फैलन नदिने तयारी गरिरहेको छ । खासमा एक व्यक्तिबाट अर्को व्यक्ति हुँदै जब स्थानीयकाबीच संक्रमण हुन थाल्छ तब यसले महामारीको रुप लिने हुँदा यसको रोकथाम भनेकै मानिसहरुको सम्पर्क टुटाउनु हो ।
एक अध्ययनले के देखाएको छ भने मानिसहरुको सम्पर्क बिच्छेद गर्ने हो भने ८० प्रतिशत संक्रमण दर कम गर्न सकिन्छ । आज अमेरिका, युरोप तथा जापान जस्ता देशहरुले बाध्य भएर लकडाउन वा संकटकालको घोषणा गर्न थालेका छन् । यदि ती मुलुकहरु जनताको जीवनभन्दा अर्थतन्त्रलाई ठूलो नमानेका भए आज ती देशमा भयावह स्थिति हुने थिएन ।
जब कोरोना तेस्रो चरणको संक्रमणमा पुग्छ तब यसलाई रोक्न निकै कठिन हुन्छ । युरोप, अमेरिका जस्ता देश असफल भैरहेका बेला नेपालमा त्यस्तो स्थिति आयो भने के होला ? हामी कल्पना समेत गर्न सक्दैनौं, तसर्थ लकडाउनको पूर्ण पालना नै एकमात्र विकल्प होा । दोस्रो चरणमा प्रवेश गरेको कोरोना तेस्रो चरणमा जानु भनेको देश तहसनहस हुनु हो ।
यसअघि नेपालमा विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण पाइएको थियो । तर विदेशबाट आएकाबाट स्थानीयमा संक्रमण फैलिएपछि यो चरण निकै जोखिमपूर्ण मानिन्छ । यसअघिको संक्रमण आयातित मात्र थियो अर्थात् विदेशबाट आएका नेपालीमा मात्र समस्या पाइएको थियो । विज्ञहरूले यसलाई पहिलो चरण वा इम्पोर्टेड चरण मानेका छन् । दोस्रो चरणमा विदेशबाट आएका संक्रमित व्यक्तिले अर्को व्यक्ति साधारणतः हेलमेल भएका नातागोतामा संक्रमण गराउँछ । तेस्रो चरणबाट ती आन्तरिक संक्रमित व्यक्तिले अन्य सयौँ व्यक्तिलाई संक्रमण गराउँछन् ।
पहिलो र दोस्रो चरणको संक्रमणको स्रोतबारे सहजै जानकारी पाउन सकिन्छ तर तेस्रो चरणको संक्रमणको स्रोत थाहा पाउन त्यति सम्भव हुँदैन । यसलाई ‘चेन रिएक्सन’ चरण पनि भनिन्छ, जहाँ एकबाट सय, सयबाट हजार, हजारबाट १० हजार र यसै तरिकाले संक्रमणको अनियन्त्रित फैलावट हुँदै जान्छ ।
युरोपका इटाली, स्पेन, फ्रान्स, जर्मनीमा भएको यही हो । नेपालमा पनि यस्तो चरणमा प्रवेश हुन नदिन निकै सावधानी अपनाउनु पर्दछ । लकडाउन गरेर मात्रै सबै समस्याको समाधान हुँदैन । परीक्षण प्रभावकारी र व्यापक बनाउनुपर्दछ । अब तेस्रो मुलुकबाट जहाजमार्फत नेपाल आएका र उनीहरूसँग सम्पर्क भएकाहरूको सम्पूर्ण सम्पर्क पहिचान गर्न र लकडाउनपछि लाखौँको संख्यामा भारतबाट नेपाल आएका व्यक्तिका कारण अबको समय थप चुनौतीपूर्ण हुने देखिएको छ ।
कसरी भयो बाघमा कोरोना संक्रमण
कोरोना संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको हो । आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको थियो ।
सो बाघमा चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । भाइरस संक्रमणका कारण बाघको आहार घटेको छ। यद्यपि भेटेरिनरी सेवाअन्तर्गत रहेको बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ । विभिन्न जनावरले नयाँ संक्रमणलाई विभिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा बाघ र सिंहजस्ता जनावरमा भाइरस कसरी विकसित हुन्छ भन्ने अझै अज्ञात रहेको भन्दै चिडियाखानाले सबै जनावरलाई नजिकबाट नियाल्ने जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्