आचारसंहिताका ६ वटा विषय एमालेको असहमति
कानुन र संविधानसंग बाझिएका बाहेक आचारसंहिताको सबै बुँदा पालना गर्ने प्रतिबद्धता
निर्वाचन आयोगले आचारसंहिता पालनामा सहभागी हुने सबै दलहरुको लिखित प्रतिबद्धता लिने दिन हस्ताक्षर नगरेको नेकपा एमालेले आज आचासंहिताको ६ विषयमा लिखित असहमति जनाएको छ ।

बिहिबार एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजालसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर आचारसंहिताको ६ वटा विषयमा लिखित असहमति राखेको छ ।
एमालेले आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाउँदै ६ वटा विषयमा असहमति भए पनि एमालेले संविधान र कानुनसँग बाझिएका बाहेकका संहिताहरु पालना गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
एमालेले उम्मेदवार मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था, सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्न लगाउने व्यवस्था, कुनै पनि तहको कार्यपालिका सदस्य, मन्त्री, प्रधानमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा रोक लगाउने आचार संहिताको व्यवस्थामा असहमति जनाएको छ ।
त्यस्तै सामाजिक सञ्जालमार्फत मत माग्न नपाउने व्यवस्था कहिलेदेखि लागू हुने हो स्पष्ट पार्न एमालेले आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्