साहित्यकार भूपिनलाई ‘पोषण पाण्डे-तीर्थ’ पुरस्कार
नेपाली साहित्यमा कथा विधाका मुर्धन्य स्रष्टा पोषण पाण्डेको स्मृतिमा स्थापित ‘पोषण पाण्डे-तीर्थ सदन’ले साहित्यकार भूपिनलाई पुरस्कृत गर्ने भएको छ ।
नेपाली साहित्य तथा समाजमा योगदान पुर्याउने उद्देश्यले स्थापित सदनले पाण्डेको ३१ औं स्मृति दिवसको अवसरमा चितवन निवासी साहित्यकार भूपिनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यस पुरस्कारले उहाँको साहित्यिक यात्रामा राजमार्ग खुलाउँदै जाने शुभकामना सहित यही आउँदो २०८० वैशाख ७ गते काठमाडौको रामहिटीमा अवस्थित साहित्य सदनमा नगद रु तीस हजार सहित कदर पत्रद्वारा सम्मान गरिने छ ।
वरिष्ठ साहित्यकार समालोचक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय निर्णय समितिले भूपनलाई गरेको सिफारिश पोषण पाण्डे तीर्थ सदनले अनुमोदन गरेको छ।
निर्णायक समितिका अन्य दुई सदस्यमा वरिष्ठ साहित्यकार प्राध्यापक डा कुमार कोइराला तथा सदन महासचिव रन्जु पाण्डे रहनु भएको छ ।
बिस २०३० मा बाग्लुङमा जन्मनु भइ हाल चितवनमा बस्दै आउनुभएको साहित्यकार भूपिन लामो समयदेखि साहित्य साधनामा अनवरत रुपमा लागिरहनुभएको छ ।
कविता, निबन्ध, उपन्यास जस्ता विविध विधामा कलम चलाउनु भएको वहाँ अन्तराष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारबाट सम्मानित हुनभएको छ भने आफ्नो पछिल्लो कृति मैदारो (उपन्यास)का लागि वहाँलाई २०१९-२० अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारले समेत सम्मान गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्