भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले पराजित गर्दै मुम्बई पहिलो जित हासिल गरेको हो ।
जारी सिजनमा दिल्लीको यो चौथों हार हो । मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले २७ बलको सामना गरी तीन छक्का र ६ चौका प्रहार गर्दै ४९ रन बनाए भने इशान किशनले २३ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४२ रन जोडे ।
यस्तै टिम डेभिडले २१ बलमा चार छक्का र दुई चौकाको मद्दतमा अविजित रहँदै ४५ रन बनाए भने कप्तान हार्दिक पाण्ड्याले ३३ बलमा एक छक्का र तीन चौकाको मद्दतले ३९ रन जोड्दा रोमारियो सेफर्डले १० बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३९ रनको नटआउट इनिङ खेले । दिल्लीका लागि एनरिच नोर्तेजले २ विकेट लिंदा अक्षर पटेलले २ तथा खलिल अहमेदले १ विकेट लिए ।
२ सय ३६ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनायो । उसको लागि ट्रिस्टन स्टब्सले २७ बलमा सात छक्का र तीन चौका प्रहार गर्दै ७१ रनमा अविजित रहे भने पृथ्वी शाले ४० बलमा तीन छक्का र आठ चौका प्रहार गर्दै ६६ रन बनाए ।
यस्तै अभिषेक पोरेलले पनि ४१ रन बनाए भने डेभिड वार्नरले १० रन जोडे । मुम्बईका लागि जेराल्ड कोट्जेले ४ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिंदा रोमारियो सेफर्डको भागमा एक विकेट रह्यो ।




प्रतिक्रिया राख्नुहोस्