राजनीति

सांसद पद गुमाएका चार मन्त्रीको पुनःनियुक्ति, साविककै जिम्मेवारीमा शपथ हुँदै

नेकपा माओवादी केन्द्रको कारबाहीमा परी बिहिबार सांसद पदबाट मुक्त भएका सरकारका चार मन्त्रीको पुनःनियुक्ति भएको छ । उहाँहरुको शुक्रबार साँझ साविक मन्त्रालयकै जिम्मेवारीमा रहने गरी शपथ हुँदैछ ।

सांसद नरहेपछि स्वतः पदुक्त चार मन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मन्त्री नियुक्तिका लागि सिफारिश गर्नुभएको हो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गर्नुभएको हो । उहाँहरुलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एमाले केन्द्रीय सदस्यमा मनोनीत समेत गरिसक्नुभएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता नै खारेज गरिदिएपछि गृहमन्त्री रामबहादुर थापासहित चार मन्त्री माओवादी पार्टीमा जानुभएको थियो । पार्टीमा नआएर एमालेको केन्द्रीय सदस्य बनेपछि उहाँहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पदबाट पनि पदमुक्त हुने व्यवस्था छ । माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो ।

सम्बन्धित खबर

Back to top button