स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिश

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्दै त्यसको पालना नभए लकडाउन जस्तो अप्रिय स्थितिमा जान बाध्य हुनुपर्ने बताइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल २५ जनाभन्दा बढी भेला हुन नदिने व्यवस्था गर्न सिफारिश गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको र कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताउनभयो ।
उहाँले अहिले जुन भीडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भीडभाड पूरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ । त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ । स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला समारोहहरु सबै बन्द गर्नुपर्छ भन्नुभयो ।
उहाँका अनुसार अघिल्लो महिनासम्म छिटपुट रुपमा देखिएका कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गयो । अस्पतालमा आईसीयूमा बिरामीहरु धेरै नै भर्ना भइसकेका छन् । त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो । अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जान्छ ।
प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको बताउँदै त्यसका लागि भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने र यस्तै भीडभाड हुने सबै व्यवसाय तथा पेसालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने सुझाव दिनुभयो ।
छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शंकास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन गर्ने कार्यलाई तीव्रता दिएको पनि प्रवक्ता गौतमले बताउनुभयो ।
पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको पनि बताउँदै प्रवक्ता गौतमले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ ‘लक्षणहरु उस्तै हो तर लक्षणहरु अलि सिरियस, जटिल लक्षणहरु देखिराखेको छन् । मान्छेहरु बिरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरुको संख्या ह्वात्तै बढेको छ । त्यसको मतलब संक्रमण भएकाहरुमा जटिल क्षणहरु धेरै देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्