विश्व समाचार

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त, सोमबार नयाँ प्रधानमन्त्री चयन

संसदमा आफ्नो पक्षको बहुमत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनुभएको छ । उहाँले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएको थियो ।

अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उहाँको पक्षमा मत नरहेका भन्दै मतदान भएको थियो । शनिबार अपरान्ह यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसदमा आफ्नो बहुमत गुमाउनुभयो ।

उहाँलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उहाँको विपक्षमा १७४ मत आएको थियो । संसदमा बहुमत गुमाएपछि उहाँ स्वतहः पदमुक्त हुनुभएको हो ।

पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको संसदले उहाँका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि उहाँ पदमुक्त हुनुभएको समाचार सम्प्रेषण गरेका छन् । बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण यहाँ पनि आर्थिक संकट देखिएको छ ।

यी विविध कारणहरु देखाएर पाकिस्तानको संसदमा यहाँका विपक्षी सांसदहरुले अविश्वासको मत दर्ता गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको थियो ।

प्रधानमन्त्री खान पदमुक्त भएसंगै पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार)का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए । मतदानका क्रममा सत्तारुढ पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का सदस्यहरू उपस्थित थिएनन् ।

राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज (आइतबार) दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ ।

उनले सोमबार बिहान ११ बजे अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का अध्यक्ष शेहबाज शरीफ, जो हाल नेशनल एसेम्बलीमा विपक्षी नेता छन् आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button