जन सरोकार

बिस्केट जात्रा- मध्यरातमा ढुंगा हानाहान, १९ जना घाइते

ऐतिहासिक शहर भक्तपुरमा शनिबारदेखि मनाउन सुरु गरिएको बिस्केट जात्रा (बिस्काः)का क्रममा मध्यरातमा झडप भएको छ । रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आइतबार बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पुर्याइएको छ ।

रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो ।

शनिबार दिउँसो ४ बजेदेखि रथ तान्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा १० का ७९ वर्षीय कृष्णगोपाल मुलकोटी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन् । घाइतेलाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ ।

त्यस्तै रथ तान्ने क्रममा ८ बजे भक्तपुर नगरपालिका १ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा २ का २२ वर्षीय रमेश माता, भनपा ६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकामा भक्तपुर अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाइते भक्तपुर नपा ६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ ।

भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर शुरु गरिन्छ । विसं अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प मर्यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।

सम्बन्धित खबर

Back to top button