विश्व समाचार

पाकिस्तानको २३औँ प्रधानमन्त्रीमा शेहबाज निर्वाचित

पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित हुनुभएको छ । पाकिस्तानको संसद्‌मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग- नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको घोषणा गरिएको छ ।

विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो ।

पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरू मतदानमा सहभागी नभएपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो । संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले जानकारी दिनुभयो ।

विपक्षी दलको नेतृत्व गर्दै आउनु भएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका नवाज शरिफका भाइ हुनुहुन्छ ।

लाहोरमा जन्मिनु भएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बन्नु भएको थियो । उहाँले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउनु हुने भएको छ ।

विश्व चर्चित क्रिकेट खेलाडी खानको नेतृत्वमा सरकार बन्द संसार भरी नै सकारात्मक सन्देश गएपनि कार्यकाल भने ठोस उपलब्धि विना सकिएको छ ।

सुरुमा निकै लोकप्रिय निर्णय गर्नु भएका खानले दलीय व्यवस्थापन र प्रभावकारी राज्य सञ्चालन गर्न नसक्दा सांसदको कार्यकाल बाँकी रहँदा नै प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनु परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button