‘इद–उल–फित्रले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछ’
उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको पर्व ‘इद–उल–फित्र’ का अवसरमा देश– विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, सुस्वास्थ्य, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।
इदका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा यस्ता पर्वले आपसी एकता एवं सद्भाव बढाउने बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले सन्देशमा विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो भन्दै देशमा मनाइने यी र यस्ता पर्वले समुदाय, समाजमा भ्रातृत्व, मेलमिलाप तथा अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
खुसी, भ्रातृत्व, सद्भाव, मेलमिलाप, सामूहिकतामा एकता र क्षमाको प्रतीकका रुपमा रहेको इद–उल–फित्रले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिएको बताउँदै उहाँले गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने तथा जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउने सन्देशमा उल्लेख गर्नुभएको छ ।
“इद–उल–फित्रले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत समाज निर्माणमा प्रेरणा प्रदान गर्न सकोस् । लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन यो पर्वले प्रेरित गर्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ ।
इस्लाम धर्मावलम्बीहरुले सूर्योदयदेखि सूर्य अस्ताएसम्म लगातार एक महिनाका दिनमा निर्जल उपवास पूरा भएको भोलिपल्ट यो पर्व धुमधामका साथ मनाउँछन् । रमजानलाई अल्लाहको रहमत महिनाको रुपमा पनि चिनिन्छ । रमजान पवित्र महिनामा मुस्लिम समुदायले आत्म–संयमको पालना गर्दै रोजा बस्ने र अल्लाहको इबादत गर्ने परम्परा छ ।
रमजानमा मुस्लिम समुदाय मन र शरीरका लागि अशुद्ध मानिएका वस्तुहरुबाट टाढा बस्ने दृढ प्रयास गर्छन् । नयाँ–नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै बधाई, शुभकामना र उपहार साटासाट गरी मनाइने ‘इद–उल–फित्र’ का दिन विशेष परिकार बनाएर खाने र खुवाउने चलन छ । इदको चन्द्रमा हेरेर सबैलाई ‘चाँद मुबारक’ वा ‘इद मुबारक’ भन्ने रीति छ । साथै मानिसहरु आफ्नो श्रद्धाअनुसार कमाएको रकममध्ये केही हिस्सा दान दिने चलन पनि छ ।
प्रतिक्रिया राख्नुहोस्