राजनीति

नयाँ वर्ष २०७७ कोरोनामाथि जीतको वर्ष बनाउन सभामुख र अध्यक्षको आव्हान

सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गर्नुभएको छ । नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उहाँले समृद्धि र दिगो विकासको बाटामा अघि बढेको वर्षका रूपमा नयाँ वर्षलाई स्थापित गरौँ भन्नुभयो ।

नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड –१९ को महामारीविरुद्ध सङ्घर्ष गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदानप्रदान गरेर स्वागत गरौँ ।”

जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव पे्ररणादायी रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “कोभिड–१९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् ।”

यसै गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुएको छ ।

लामो राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट जारी भएको नेपालको संविधानबमोजिम तीन तहका सरकारको निर्माण भई भौतिक र आर्थिक विकास गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारासहित अगाडि बढिरहेको बेला कोरोनाको महामारीले उच्च जोखिममा पारेको अध्यक्ष तिमिल्सिनाले उल्लेख गर्नुभएको छ ।

कोरोनाबाट जोगिन सरकारले जारी गरेको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई घरमै बसी परिपालना गर्नु नै उत्तम उपाय भएको बताउँदै उहाँले नयाँ वर्षले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button