कोरोना संकट नसकिंदासम्म प्रधानमन्त्रीको सम्पूर्ण पारिश्रमिक राहत कोषमा (भिडियो)
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम तथा राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । नयाँ वर्ष विसं २०७७ सालको उपलक्ष्यमा भिडियो शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।
सन्देशमा प्रधानमन्त्री ओलीले आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा भएको उल्लेख गर्दै भन्नुभयो “मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड १९ प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने निर्णय गरेको छु ।”
प्रधानमन्त्री ओलीले यतिखेर सरकारको सारा ध्यान कोरोना भाइरसले निम्त्याएको विपद्सँग लड्नमा रहेको स्पष्ट पार्दै भन्नुभएको छ “हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिक्ता नागरिकहरूको स्वास्थ्य सुविधा र सुरक्षा हो । यतिबेलाको सबैभन्दा महत्वपुर्ण विकाश निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुराको सुनिश्चितता गर्ने हो ।”
त्यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा कोरोनाका कारण देशको उत्पादन र उत्पादन प्रणालीमा परेको असरलाई सरकारले आफू मताहतका निकायहरूबाट अध्ययन भइरहेको र त्यसको निष्कर्ष आएपछि नीति तथा कार्यक्रममार्फत बजेटमा मार्फत सार्वजनिक गर्ने पनिन बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्