राजनीति

मधेसमा कसले मार्ला बाजी ? यस्तो छ विगतको नतिजा

मधेसवादी दलक बाहुल्य रहेको मधेश प्रदेशमा अन्य दलहरुको उपस्थिति पनि कम छैन । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगर र ५९ गाउँपालिका गरी १३६ पालिकामा १२७१ वडा छन् ।

मधेस प्रदेशको पूर्वी सीमा जिल्ला सप्तरीमा नौ नगरपालिका, नौ गाउँपालिकासहित १८ स्थानीय तह छन् । यी १८ स्थानीय तहमा १६४ वडा छन् । सिराहा जिल्लामा आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ पालिका छन् । जिल्लाका १७ पालिकामा १६४ वडा छन् ।

प्रादेशिक राजधानी धनुषा जिल्लामा एक उपमहानगर, ११ नगर तथा छ गाउँपालिका गरी १८ स्थानीय तह छन् । यी १८ स्थानीय तहमा १६९ वडा छन् । पन्ध्र स्थानीय तह रहेको महोत्तरीमा दश नरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तहका १३८ वडा छन् ।

सर्लाहीमा भने सबैभन्दा धेरै ११ नगरपालिका र नौ गाउँपालिकासहित २० स्थानीय तह छ । त्यहाँ २०० वडा छन् । सोह्र नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा १५७ वडा छन् । एउटै जिल्लामा दुई उपमहानगरपालिका रहेको बारामा पाँच नगरपालिका र नौ गाउँपालिका गरी १५ स्थानीय तह छन् । यी १५ पालिकामा १६७ वडा छन् ।

मधेसकै एकमात्र महानगरपालिका रहेको पर्सामा तीन नगरपालिका र दश गाउँपालिका गरी १४ स्थानीय तह छन् । यी १४ स्थानीय तहमा ११२ वडा छन् । कूल १३६ स्थानीय तह रहेको मधेस प्रदेशमा कांग्रेसले पालिकाको प्रमुखमा जम्मा ४० स्थानीय तहमा जितेकामा उपप्रमुखमा भने ३८ स्थानीय तहमा मात्र जितेको थियो ।

वडातर्फ २९५ ठाउँ जितेको कांग्रेस प्रमुख पदमा जितेको आधारमा मधेसका स्थानीय तहमा २९ प्रतिशतको हैसितमा छ । उपप्रमुख÷उपाध्यक्षतर्फ करिब २८ प्रतिशतको हैसितमा रहेको कांग्रेस वडा तहमा त्योभन्दा कम २३ प्रतिशतमा सीमित छ ।

मधेस प्रदेसमा दोस्रो दलको हैसियत तत्कालीन सङ्घीय समाजवादी फोरमले पाएको थियो । पछि यो दल नयाँ शक्ति, राष्ट्रियता जनता पार्टीसँग मिल्दै अहिले जनता समाजवादी पार्टीको नाममा रहेको छ । मधेसमा तेस्रो दलको हैसियतमा तात्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले बनाएको थियो । उसले २५ स्थानीय तहमा प्रमुख पद जितेको थियो । अहिले उक्त दल लोसपाको नाममा रहेको छ ।

केन्द्रमा तेस्रो बनेको नेकपा माओवादी केन्द्र मधेसमा अघिल्लो स्थानीय तह निर्वाचनका आधारमा चौथो हैसियतमा छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार माओवादीले २१ स्थानीय तहमा प्रमुख जितेको थियो । अठार स्थानीय तहमा प्रमुख जितेको नेकपा(एमाले) मधेसमा पाँचौँ दलको हैसियतमा थियो भने त्यसपछि नेपाल लोकतान्त्रिक फोरमले तीन, नेपाली जनता दलले दुई र नयाँ शक्ति पार्टीले एक स्थानीय तहमा २०७४को स्थानीय तह निर्वाचनमा प्रमुख पद जितेका थिए ।

वडा तहको अवस्था

सप्तरी- नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेको सप्तरीमा कांग्रेसले पाँच स्थानीय तहमा प्रमुख र सात स्थानीय तहमा उपप्रमुख, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पाँच–पाँच, नेकपा(एमाले)ले दुई र तात्कालीनका नयाँ शक्तिले एक स्थानीय तहमा जितेको थियो । जिल्लाका कूल १६४ मध्ये कांग्रेसले ४० वडा अर्थात २५ प्रतिशत वडामा जितेको थियो ।

सिराहा- सिराको १७ स्थानीय तहमध्ये कांग्रेसले जम्मा दुई स्थानीय तहमा मात्र जितेको थियो । त्यस जिल्लामा माओवादी केन्द्रले छ, सङ्घीय समाजवादी फोरमले पाँच र एमालेले चार स्थानीयमा तह जितेका थिए । कांग्रेसले जिल्लाको कल्याणपूर नगरपालिका र नवराजपुर गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

सिरहाका कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव पार्टी अन्तरघातको शिकार हुँदा सिरहामा कांग्रेसको अवस्था बिग्रेको तर अहिले २०७४ का भन्दा माहोल फरक भएकोले यस पटक कांग्रेस नै पहिलो पार्टी बन्ने जिकिर गर्नुहुन्छ ।

धनुषा-  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृह जिल्ला धनुषामा कांग्रेसले आठ स्थानीय तहमा जितेको थियो । सबैभन्दा बढी रणनीतिक महत्वको जनकपुरधाम उपमहानगरपालिकामा हारेको कांग्रेसले आठ प्रमुख र सात उपप्रमुखमा जितेको थियो । कूल १६९ वडा रहेको धनुषामा कांग्रेसका ४७ वडाध्यक्ष थिए ।

धनुषामा दोस्रो दलको हैसियत एमालेले बनाएको थियो । उक्त दलले चार स्थानीय तहमा प्रमुख, र माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समान दुई–दुई स्थानीय तहमा जितेका थिए ।

महोत्तरी- १५ स्थानीय तह रहेको महोत्तरीमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले जम्मा तीन स्थानीय तहमा प्रमुख र एउटामा मात्र उपप्रमुख जितेको थियो । महोत्तरीमा दश नगरपालिका र पाँच गाउँपालिका रहेकोमा राष्ट्रिय जनता पार्टीले सात, माओवादी केन्द्रले चार र सङ्घीय समाजवादी फोरमले एक स्थानीय तहमा जितेका थिए । जिल्लाका १३८ वडामध्ये कांग्रेसले ३५ वडामा जितेको थियो ।

सर्लाही- सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला सर्लाहीको २० स्थानीय तहमध्ये कांग्रेसले जम्मा पाँच स्थानीय तहमा प्रमुख जितेको थियो भने चार स्थानीय तहमा मात्र उपप्रमुख जितेको थियो । सर्लाहीमा राष्ट्रिय जनता पार्टीले छ, एमालेले चार, माओवादी केन्द्रले तीन तथा सङ्घीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले एक–एक स्थानीय तहमा जितेका थिए ।

नेपाल लोकतान्त्रिक फोरम कांग्रेसँग एकता भइसकेकाले कांग्रेसका स्थानीय तहका प्रमुखको सङ्ख्या छ पुगेको छ । सर्लाहीका २०० वडामध्ये कांग्रेसले ४७ वडामा जितेको थियो ।

रौतहट- रौतहटको १८ स्थानीय तहमध्ये आठ पालिकामा प्रमुख र छ पालिकामा उपप्रमुख जितेको कांग्रेसले १५७ वडामध्ये ५२ वडामा पनि जितेको थियो । रौतहटमा दोस्रो दल तत्कालीन सङ्घीय समाजवादी फोरम रहेको थियो । उसले चार स्थानीय तहमा जितेको थियो । रौतहटमा माओवादी केन्द्रले तीन, राष्ट्रिय जनता पार्टीले दुई र नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तहमा जितेका थिए । एमाले भने चन्द्रपुर नगरपालिकामा उपप्रमुख मात्र जितेको थियो । लोकतान्त्रिक फोरमसँगको एकतापछि रौतहटमा कांग्रेसको स्थानीय तहमा प्रमुखको सङ्ख्या नौ पुगेको थियो ।

बारा- सोह्र स्थानीय तह रहेको बारा जिल्लामा कांग्रेसले छ स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको थियो । जिल्लामा तत्कालीन सङ्घीय समाजवादी फोरमले चार, तात्कालीन राजपाले तीन र नेकपा एमालेले दुई स्थानीय तहमा जितेका थिए । नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तह जितेको थियो । लोकतान्त्रिक फोरम कांग्रेसमा मिलेपछि कांग्रेसका प्रमुखको सङ्ख्या बारामा सात पुगेको थियो ।

पर्सा- चौध स्थानीय तह रहेको पर्सा प्रदेशमै एकमात्र महानगर भएको जिल्ला हो । जिल्लाको जम्मा तीन स्थानीय तहमा प्रमुख र पाँच स्थानीय तहमा उपप्रमुख जितेको कांग्रेसले कूल ११२ वडा वडामध्ये ३७ वडामा जितेको थियो ।

पर्सामा पहिलो दल सङ्घीय समाजवादी फोरम हो । फोरम चार स्थानीय तहमा विजयी हुँदा, माओवादी केन्द्रले तीन, नेकपा एमालेले दुई तथा नेपाली जनता दलले दुई स्थानीय तह जितेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button