“चर्का नारा, गहकिला आश्वासन र अर्थहीन परिवर्तनले जनमानसलाई शान्त पार्न सकेन”
पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले राजनीतिक परिवर्तनसंगै जति चर्का नारा लगाएर आश्वासन दिए पनि जनताको जीवनस्तर नबदलिएको बताउनुभएको छ ।
नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले हरक वर्ष भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि पनि हुनुपर्ने बताउँदै सो टिप्पणी गर्नुभएको हो ।
शुभकामना सन्देशमा भनिएको छ ‘चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रूपान्तरणको प्रक्रियाले जनमानसलाई शान्त पार्न सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो ।’
त्यसै गरी उहाँले नेपाल त्रिपक्षीय महाशक्तिहरूबीचको शिखर आभूषणको रूपमा रहेता पनि आफ्नै भूबनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्यमान्यता तथा परम्पराले गौरवान्वित रहिआएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ ‘छिमेकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति, प्रगतिलाई मात्र प्रभावित गर्दैन, मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ ।’
पूर्व राजा शाहले सबै राष्ट्र, सबै समुदाय मिलेर रहून्, कतै अशान्ति नहोस् र कोही कसैमा विभाजना र मतभेद नआओस् भन्दै नेपाली सबैको भलो होस्, सबै नेपालीको सपना साकार होस् भन्ने शुभकामना दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्