विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताउनुभएको छ ।
हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सन्देशमार्फत भनिएको छ ।
ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गरिनु हुँदैन । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ ।
प्रकृतिप्रदत्त स्रोतको दिगो व्यवस्थापन एवं उपयोगमार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयत्नशील हुनुपर्ने सन्देशमार्फत भनिएको छ ।
विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको हुनाले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी रहेको पनि राष्ट्रपति भण्डारीले भन्नुभयो ।
अन्त्यमा, नयाँ वर्ष २०७९ ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने सबैमा शुभकामना दिनुभएको छ ।
यसै गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको २६२१औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
महावीरले जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्नसके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम हुनका साथै दिगो शान्ति र अहिंसा प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास शुभकामना सन्देशमा भनिएको छ ।
समाजमा विद्यमान अन्धविश्वास, विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं प्रगतिशील समाज निर्माण गर्न महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास लिइएको छ ।
सम्पूर्ण मानव जातिको कल्याणका लागि शान्तिको बाटो देखाउनुहुने महावीरको जन्मजयन्ती हरेक वर्षको चैत शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाउने गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्