नयाँ वर्षले भरोसा, विश्वास र आशा बढाओस्
आजबाट नयाँ वर्ष २०८२ सुरु भएको छ । ३ सय ६५ दिनको एउटा समयचक्र पूरा गरेपछि नयाँ सम्वत्सर फेरिन्छ र नयाँ वर्ष सुरू हुन्छ । नेपालमा विक्रम सम्वत् प्रचलनमा छ र हरेक वर्षको बैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मानेर वर्ष पात्रो फेरिने क्रम चल्दैआएको छ ।

नयाँ वर्षको आगमनलाई विशेष उत्साह र उमंगकासाथ स्वागत गर्ने र एक आपासमा शुभकामनाको आदान प्रदान गर्ने परम्पराको निर्वाह हुँदैआएको छ ।
वितेका वर्षका उल्लेख्य घटनाहरूलाई अभिलेखमा राखेर नयाँ वर्षलाई विशेष अवसरका रूपमा ग्रहण गर्ने सकारात्मक र आशाप्रद धारणाको प्रवाह निरन्तर हुँदैआएको छ । तर राज्य संचालनका हकमा मौखिक रुपमा व्यक्त हुने धारणा कार्यान्वयनका दिशामा फितला छ ।
हामी पनि नयाँ वर्ष २०८२ प्रवेशको यो क्षणमा समस्त देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीजनको समुन्नति, प्रगति र सुख–शान्तिको कामना गर्दै स्वाभिमान नेपालको नव निर्माणका लागि राष्ट्रिय एकताको भावना सबल बनोस् र विधिको शासन कायम गर्दै देशले समुन्नति र समृद्धिको सुमार्ग पहिल्याओस् भन्ने हार्दिक कामना गर्दछौं ।
अभूतपूर्व राजनीतिक परिवर्तनपछि पनि देशले राजनीतिक स्थिरता र आर्थिक विकासको बाटो पहिल्याउन नसकेर विपन्नताको जञ्जिरमा बेरिएको दारूण स्थिति मुलुकले झेलिरहेको छ ।
आर्थिक पराधिनताको शिकार हुँदै गएको मुलुकमा राष्ट्रिय उत्पादकत्वको कुरा नै बेकारका गफ बनेका छन् । दैनिक २ हजारभन्दा बढी युवाहरु आफ्ना परिवारको पेट पाल्नकै लागि विदेशिने गरेको वष्मयकारी अवस्था छ ।
राजनीतिक अस्थिरता, लोकतन्त्रको नाममा दलीय र व्यक्तितन्त्र हावी छ । आम जनताको क्रन्दन सुन्ने फुर्सद सरकार र राजनीतिक दलहरुलाई छैन ।
आफ्ना कार्यकर्ताको घेराबन्दीमा परेर उनीहरु नै आमजनता हुन् भन्ने भ्रम पालेर सरकार ‘महारानको वस्त्र’को कथा चरितार्थ गरिरहेको छ । वितेको वर्षमा भएका यी तमाम विकृति–विसंगतिहरु नयाँ वर्षसंगै अन्त्य होस् ।
नेपालमाथि विदेशी हस्तक्षेपका खेलहरु निरुन्तर जारी छ । बि.सं. २०८१ को १५ दिन बाँकी रहँदा मच्चिएको राजनीतिक रडाकोले सरकारको सातोखाएको छ । राजतन्त्रवादीहरुको आदोलनमा जसरी सरकार प्रस्तुत भयो, त्यो चरम लोकलज्जाको विषय बनेको पुष्टि भैसकेको छ ।
यस्तो अवस्था अरु कति बढ्ने हुन् वा सहमति, समझदारीको राजनीतिक संस्कारको विकास भएर अहंकार, दम्भ त्यागिने हो हेर्न बाँकी छ । तर, हामी आम राजनीतिक नेतागण, अझ शक्तिमा रहनेहरुमा सहनशील, देशप्रति माया र जनताप्रति जिम्मेवार हुने शक्ति–प्रेरणा नयाँ वर्षले दिओस् ।
नेपालको आन्तरिक परिस्थितिलाई तरंगित र अस्थिर बनाइरहने खेलहरूको निरन्तरताले नेपालको स्वाधिनता, राष्ट्रिय एकता र अखण्डतालाई नै चुनौति दिइरहेको पृष्ठभूमिमा नेपाललाई शिर ठाडो बनाएर उभिन नदिन चालिएका हस्तक्षेपकारी कदमहरू विरुद्ध एकीकृत हुँदैगएको नेपाली मानसिकतालाई नयाँ वर्ष २०८२ ले नयाँ उर्जा दिन सकोस् ।
राष्ट्रिय एकताको भावना अरु मजबुत पार्ने सन्देश प्रवाह गर्ने विश्वास जागृत भएको छ । पराधिन मानसिकताविरुद्ध राष्ट्रिय जागरणले अभियानको रुप लिइरहेको छ । नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा यो सुखद सन्देश हो ।
वैदेशिक चलखेल र हस्तक्षेपका अनेक चरणबाट गुज्रँदैआएको नेपालले राष्ट्रिय मार्गचित्र निर्माण गर्न अझै धेरै राजनीतिक कसरत गर्नुपर्ने चुनौतिपूर्ण अवस्था विद्यमान छ नयाँ वर्ष २०८२ को आगमन समस्त नेपालीका लागि सुखद बनोस् । वितेका वर्षहरूले थोपरेका बेथितिपूर्ण अभिशापका पहाडहरू सबै हटेर जाउन् ।
मुलुकमा कायम रहेको विकृति, विसंगति, भ्रष्टाचार, राज्यसंयन्त्रको जराजरासम्म घुसेको दलीयकरण नहटे नहटाएसम्म नेपाल विधिको शासनको लोकतान्त्रिक मार्गमा प्रवेश नै गर्न नसक्ने कुरा अकाट्य छ । यस्तो अभिशापपूर्ण अवस्थाबाट देशलाई मुक्त गर्न राष्ट्रिय जागरण नै पैदा हुनुपर्दछ । यो जागरण राजनीतिक दलहरुले नै पैदा गराउने भएकाले उनीहरुमा त्यो राष्ट्रिय आकांक्षा र जिम्मेवारी अनुभूत होस् ।
देश चरम समस्याको जालोले बेरिएको छ । मुलुकका समस्या समाधान गर्न एकताबद्ध भएर हातेमालो गर्नुपर्ने नेताहरुमा बढ्दै गएको मपाइँवादको भ्रमजालबाट जनता वाक्कदिक्क भैसकेको यथार्थ कसैबाट छिपेको छैन । जुन जोगी आएपनि कानै चिरेका भन्ने उखान चरितार्थ भैरहेको छ।
लिखितं र वकितंमा लोकतन्त्र भने पनि व्यवहारमा भने दलतन्त्र र लुटतन्त्रले जरा गाडेको छ । राज्यसत्ताको दोहन र दुरुपयोगका निम्ति सदैं दाउपेच चलिरहनेगरेको छ । जनआक्रोशको पारो चढ्दै जानुको कारण पनि यही हो । यो अवस्थाको अन्त्य हुँदै देशमा हरेक क्षेत्रले अपेक्षाकृत गति प्राप्त गरोस् । राष्ट्र निर्माणमा सबै नेपालीलाई एकजुट बनाएर अघि बढ्ने क्षमता प्रदर्शन होस् ।
शान्त, सहिष्णु र सम्भावनै सम्भावनाले भरिएको यो मुलुकका सिर्जनशील जनतालाई दलीय–समूह–जात, धर्ममा विभक्त गराएर आपसमा कटुता सिर्जन गराउने कुतत्वहरु असफल हुन्, जनता पनि त्यस्ताबाट सचेत रहँदै आफ्नो राष्ट्रिय भावनाको रक्षा गर्न सक्षम रहुन् । सबैमा देशभक्तिको भावना बढोस् ।
हाम्रो कामना छ– नयाँ वर्ष २०८२ मुलुकमा शान्ति, राजनीतिक स्थिरता, सहिष्णुता, सहयात्रा, आर्थिक–सामाजिक विकास, समृद्धि, सुशासनको वर्ष बन्दै नेपालीलाई नेपालमै उद्यम र श्रम गर्ने वातावरण बनोस् । देशमा उद्यमशीलताको विकास होस्, धर्म–संस्कृति परम्पराको रक्षा गर्दै आफ्नै गाउँघरमा कुटोकोदालो गरेर हाँसीखुसी बस्ने अवस्था सिर्जना होस् । सबैमा यही चेतना जागृत होस् ।
प्रतिक्रिया राख्नुहोस्