इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

लखनउको घरेलु मैदान भारत रत्न श्री अटलविहारी भाजपाइ एकान क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । लखनउका लागि ऋषभ पन्तले ४९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले भने मिचेल मार्शले ३० रन बनाए ।
त्यस्तै आयुश बदोनीले २२ रन जोड्दा अब्दुल समादले २० रन बनाए । चेन्नईका लागि रविन्द्र जोडेजा र मथिश पाथिरानाले समान दुई-दुई विकेट लिए भने खलिल अहमद र अन्शुल कम्बोजको भागमा समान एक-एक विकेट रह्यो । लखनउको प्रस्तुत गरेको १ सय ६७ रनको लक्ष्य चेन्नईले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
चेन्नईको जितमा शिबम दुबेले ३७ बलमा तीन चौका र दुई छक्कासहित अविजित रहँदै ४३ रन बनाए भने रचिन रविन्द्रले ३७ रन जोडे । यस्तै कप्तान महेन्द्रसिंह धोनीले ११ बलमा चार चौका र एक छक्काको सहयोगमा २६ रनमा नट आउट रहे । लखनउको लागि रवि बिश्नोईले दुई विकेट लिए भने दिग्वेस रथी, आभेश खान र एडेन मार्क्रमको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै सात खेलमा चार अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ भने समान खेलमा आठ अंक जोडेको लखनउको चौथो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति ७:४५ बजे पन्जाब किंग्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्