जल/वातावरण

थप पाँच सय ३४ सङ्क्रमित, ‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु

पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीन हजार ५८८ मा पिसीआर र ५६४ मा एन्टिजेन गरी चार हजार १५२ को कोरोना परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि भएको हो । चार सय ९० मा पिसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो ।

आज थपिएका सङ्क्रमितमध्ये १९६ काठमाडौँ उपत्यकाका छन् । त्यस्तै भक्तपुरमा आठ, ललितपुरमा ४३ र काठमाडौँमा १४५ रहेका छन् । गत २४ घण्टामा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६६ पुगेको छ । गत २४ घण्टामा १५७ सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ ।

हाल देशभर चार हजार ३८४ सङ्क्रमित आइसोलेशनमा छन् । तीमध्ये तीन हजार ८९४ होम आइसोलेशनमा रहेका छन् भने ४९० संस्थागत आइसोलेशनमा छन् । देशभर ९१ आइसीयु र ३५ सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल ६८ क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैबीच कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण खोजी भइरहेको जानकारी दिनुभयो ।

“सङ्क्रमण देखिएका व्यक्ति विदेशबाट आएका हुन्”, उहाँले भन्नुभयो, “उनीहरुको यात्रा विवरण, कन्ट्याक्ट ट्रेसिङ हामीले खोजिरहेका छौं ।” हङ्कङमा परीक्षणका क्रममा बुधबार ललितपुरका ५९ वर्षीय एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ र अन्य नौ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो । पन्ध्र जनाको अणुवांशिक (जीन सिक्वेन्सिङ)मा एक जनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटिएको हो ।

सङ्क्रमित तीन हप्ता पहिले नेपाल आएकाले उनीहरुमा सङ्क्रमण नभए पनि अरुलाई सारेको हुनसक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङलगायतका कार्य भइरहेको उहाँले बताउनुभयो । दुवै कोभिड–१९ का नयाँस्वरुप भएकाले कडा खालका भाइरस मानिन्छन् । दुवै सङ्क्रामक क्षमता बढी रहेका भाइरस हुन् ।

सम्बन्धित खबर

Back to top button