जन सरोकार

हत्यामा संलग्न खुलाल पक्राउ, बुटवलमा हत्या शव लुकाउन बागलुङ

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको बिहिबार गाईफार्ममा खुकुरी प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

हत्यामा संलग्न काठमाडौँ गोठाटार घर भई सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाललाई प्रहरीले चारैतिर घेरा हाली पक्राउ गरेको छ । अनुसन्धानका क्रममा खुलालले सामान्य विवादमै खुकुरी प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार खुलाललाई भेट्न गाईफार्म पुगेका राई, महोत्तरी जिल्ला घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिष योञ्जन र सुनिल बलबीच कुराकानीकै क्रममा विवाद भएको थियो । राई र खुलालबीच विवाद भएपछि खुलालले कोठाबाट खुकुरी ल्याई राईलाई हान्न थालेपछि योञ्जन र बल झ्यालबाट भागेर ज्यान जोगाएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाको टोलीले हत्या गरी भाग्दै गरेका कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार स्थायी घर भई सिपाडोलमा गाईफार्ममा रहेका खुलाललाई पक्राउ गरेको हो । घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापासमेतको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको तथा घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ ।

खुकुरी प्रहारबाट मृतक राईको घाँटी र टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

उता बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो ।

वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो । बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएपछि अन्ततः शवको पहिचान खुल्यो । ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

बुटवलमा व्यवसाय गर्दै आउनुभएका बसेल चैत ४ गते रातिदेखि सम्र्पकविहीन हुनुभएको थियो । “प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिन्छ”, सूचना अधिकारी हवारीले भन्नुभयो, “शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरे पनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ ।” हवारीका अनुसार बुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अनुसन्धान गरिरहेका छन् । अन्य मानिससमेत शङ्काको घेरामा रहेको उहाँले बताउनुभयो । उहाँले हत्यामा सम्लग्न एक जना फरार रहेको बताउनुभयो ।

“हत्यामा कुनै पेशेवर अपराधीसमेत संलग्न भएको हुनसक्छ, बुटवलमा हत्या गरी शव सुटकेसमा राखेर बस चढेर बागलुङस्थित ढोरपाटन–२ रिनाम ल्याएर गाडेको अनुसन्धानबाट देखिन्छ”, उहाँले भन्नुभयो “हत्या सुनियोजित भएको हुँदा एक्लैले सम्भव देखिँदैन, अन्य कुरा थप अनुसन्धाबाटै खुल्ला ।” साझेदारीमा व्यवसाय गर्दा आर्थिक विवाद भएकाले हत्या गरेर शव लुकाउन बागलुङ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ ।

बुटवलबाट बसको डिक्कीमा सुटकेसभित्र शव राखेर बागलुङको ढोरपाटन ल्याउनु भनेको निकै जटिल भएकाले हत्यारा निकै चलाख र पेशेवरसमेत भएको देखिन्छ । गाडिएको अवस्थामा फेला परेको बेवारिसे शव दुर्घन्धित हुँदै गएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।

सम्बन्धित खबर

Back to top button