राजनीति

कला प्रदर्शनीले हिमाल जोगाउन आह्वान गरेको छ : प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँमा जारी ‘हिमालयको रहस्य कला प्रदर्शनी’ले विश्वलाई हिमाल जोगाउन आव्हान गरेको बताउनुभएको छ ।

प्रवक्ता सापकोटा

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी कला प्रदर्शनी अवलोकनको क्रममा बुधबार संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको असरले विश्व चिन्तित भएको बेला कलाको माध्यमबाट वास्तविक समस्या उजागर गरी हिमाल बचाउन नयाँ सन्देश प्रवाह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सहजै महसुस गर्नसक्ने गरी छिनमै जाडो र छिनमै गर्मी भइरहेको छ । हिमालका हिउँ पग्लिरहेका छन् । पछिल्लो समयमा देखिइरहेको जलवायु परिवर्तनको यो असरलाई कम गर्न सचेतना फैलाउन जरुरी छ, यस्ता प्रदर्शनीले विश्वलाई सचेत गराउन मद्दत गर्छ ।”

सबैले प्रयत्न गरेमा भयावह स्थितिलाई सन्तुलनमा ल्याउन सकिने उल्लेख गर्दै उहाँले खासगरी शक्ति राष्ट्रहरुले धेरै क्षति पु¥याइरहेको बताउनुभयो । “त्यसका बारेमा नेपाल सरकारले प्रयत्न पनि गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कोप–२८ मा राम्रोसँग विषय उठाउनुभएको छ”, उहाँले भन्नुभयो, “संयुक्त राष्ट्र सङघका महासचिव एन्टेनियो गेटेरेसले सगरमाथा र अन्नपूर्ण बेसक्याम्पमा पुगेरै विश्वलाई शक्तिशाली सन्देश र अपिल गर्नुभएको छ । मलाई लाग्छ उहाँको अपिलले पनि प्रभाव पारेको छ ।”

उहाँले सबै कलाकारले मेहनत गरेको र यसले महत्वपूर्ण सन्देश दिएको आफूले महसुस गरेको प्रतिक्रिया दिनुभयो ।

सो क्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले हिमालसँग सम्बन्धित चित्र सिर्जना गरेर जलवायु परिवर्तनको असरलाई कलामा उतार्नु महत्वपूर्ण काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कला प्रदर्शनीले विश्वलाई नयाँ सन्देश दिन सफल भएको र हिमाल बचाउन आह्वान गरेको छ ।”

इतिहासलाई आजको पुस्ताले कसरी बुझ्छ भन्ने कुरा चित्रकलाले देखाउने हुँदा नेपालको परिस्थिति, संस्कृति र इतिहासलाई चित्रमा उतारेर शिक्षा दिन कला सिर्जना उत्तम माध्यम हुने उहाँले बताउनुभयो । कला सिर्जना र संस्कृतिका विषयमा राज्यले ठीक ढङ्गले ध्यान केन्द्रित गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनीका बारेमा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केली, प्राज्ञ परिषद् सदस्य दिनेश्वर महत्तो र सौरगङ्गा दर्शनधारीले उहाँहरुलाई जानकारी गराउनुभएको थियो । सो क्रममा कला क्षेत्रको विकास, राज्यको प्राथमिकता र महत्वका विषयमा छलफल समेत भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.