जन सरोकार

हिँडेर घर जान लागेकालाई बनेपामा खाना र पानी

ठेकेदारले किनिदिएको चालम सकिएपछि दाङको तुल्सीपुरस्थित घरमा हिँडेका परवीर ओली सिन्धुपाल्चोकबाट दुई दिन लगाएर काभ्रेको बनेपा आइपुग्नुभयो ।

सिन्धुपाल्चोकमा सडक निर्माणको काम गर्दै आउनुभएका तुल्सीपुर नगरपालिका वडा नं १९ बिजौरी घर भएका ६१ वर्षीय ओलीले भन्नुभयो, “कोठामा खाद्यान्न सकिएपछि अब जसरी भए पनि घर पुग्नुको भएन ।” उहाँ एक महिनाअघि सिन्धुपाल्चोक पुग्नुभएको थियो । बाटामा खाना खाने सुविधा नभएपछि बनेपा आइपुगेपछि उहाँ भोको हुनु परेन ।

यता धादिङमा गणेश ईटा भट्टामा काम गर्दै आउनुभएका कान्छामान तामाङ बालबच्चासहित हिँडेरै दुई दिनमा बनेपा आइपुग्नुभएको छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ८ स्थायी घर भएका उहाँ विगत दुई वर्षदेखि सो ईटाभट्टामा काम गर्नुभएको र बन्दाबन्दीका कारण काम नभएपछि घर फर्कनुभएको हो । उहाँले भन्नुभयो, “साहु पनि सम्पर्कमा छैनन, नाइके पनि बेपत्ता भए । खाद्यान्न किनेर खान पैसा सकियो ।” उहाँ भक्तपुरको आफन्तको घरमा बस्न जाँदा घरपतिले बस्न नदिएको गुनासो गर्नुहुन्छ ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ५ जगाडीका चन्द्रबहादुर तामाङ भक्तपुरको चाँगुनारायणदेखि हिँडेर गाउँ त्यता जाँदै हुनुहुन्छ । उहाँलगायत दश जनाको समूह दुधौली हिँड्नुभएको हो । उहाँहरुसँग १४ जनाको समूह रहेकामा चार जनालाई एउटा गाडीले लगेपछि बाँकी हिँडेर जाँदैछन् ।

काठमाडौं टोखामा किराना पसलमा काम गर्दैै आउनुभएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ४ का भिमसेन खड्काको पनि अवस्था उस्तै छ । लकडाउनले खाना र बस्न समस्या थपिदै गएपछि कोठा छोडेर हिँडेको उहाँले बताउनुभयो ।

बनेपा आइपुगेका करिव १०० जनालाई शनिबार स्थानीय व्यवसायीले खाना र पानीको व्यवस्था गरेका थिए । भोकभोकै बाटोमा हिँड्नेहरुको सङ्ख्या बढ्दै गएपछि आफूहरुले प्रशासनको अनुमतिमा खाना र पानीको व्यवस्था गरेको सुधीर वैद्यले बताउनुभयो ।

काभ्रे उद्योग वाणिज्य सङ्घ बनेपाको समन्वयमा पानस पार्टी प्यालेसले गत चैत २५ गतेदेखि निरन्तर खाना र पानीको व्यवस्था गर्दै आएको सङ्घका महासचिव कैलाश पलाञ्चोकेले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.