कोरोनाबाट बच्न हात धुन पानी उपलब्ध हुनुपर्यो नि !
–पूर्णप्रसाद मिश्र
कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दूरी कायम गर्न र हात धुन आजभोलि काठमाडौंमा पानीको व्यापक अभाव छ । खानेपानीकै लागि नागरिक ट्यांकरको पर्खाइमा लामो लाइनमा बस्नुपर्ने बाध्यता छ ।
यस्तो परिस्थितिमा स्मार्ट सोलुसन प्रालिले आयोजना गरेको भिडियो सम्मेलनमा सहभागी विज्ञहरुले हात हुन स्वच्छ पानी उपलब्ध हुनुपर्नेमा जोड दिनुभएको छ । कोरोनासँगै गर्मीयाममा फैलने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने सुझाव उहाँहरुको छ ।
सम्मेलनमा पूर्वसचिव इञ्जिनीयर सुमन शर्माले कोरोनाको नियन्त्रण, रोकथाम र उपचार अहिले चुनौती बनेकाले रोग लाग्न नदिन स्वच्छ पानीको आपूर्तिमा ध्यान दिनुपर्ने बताउनुभयो । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले क्वारेन्टाइनमा बस्नेहरुका लागि पर्याप्त गुणस्तरीय पानी उपलब्ध गराउनुपर्ने बताउनुभयो । कोरोना भाइरसबाट बच्न सफा पानी र साबुन वा स्यानिटाइजरले हात धुनुपर्ने सन्देश पुगेको भए पनि सरकारले पानी नै पुर्याउन नसकेको उदाहरण दिँदै उहाँले टोलटोलमा राखिएका ट्याङ्की रित्ता भएको बताउनुभयो ।
क्वारेन्टाइनमा पर्याप्त सङ्ख्यामा ट्वाइलेट, साबुन र पानीको व्यवस्था नभएकामा सरोकार भएका निकायको पूर्वसचिव शर्माले ध्यानाकर्षण गराउनुभयो । “अल्कोहल भएको स्यानिटाइजरले हात धुनुपर्छ भनेपछि धेरै उत्पादकले बजारमा स्यानिटाइजर ल्याए, जसलाई इथाइल र मिथाइलबीचको फरक नै थाहा रहेनछ, कोरोनाको भाइरसलाई ६० देखि ९० प्रतिशत इथाइल अल्कोहल मिसिएको स्यानिटाइजरले निसङ्क्रमित गर्न सक्छ, त्यसमा आइसोप्रोपाइल मिसाउँदा अझ प्रभावकारी हुन्छ, तर बजारमा फरक किसिमका स्यानिटाइजर आए, त्यसमा हामीले निगरानी गर्न सकेनौँ”, उहाँले भन्नुभयो ।
खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई साबुन वा स्यानिटाइजर पानीले हात धोएर निस्कृय पार्न सकिने भएकाले यसको नियन्त्रणमा खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत जनशक्तिको महत्वपूर्ण भूमिका देखिएको बताउनुभयो ।
आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, लिमिटेड एवं विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । नागरिकलाई स्वच्छ र पर्याप्त पानी उपलब्ध गराउन स्थानीय तहलाई सक्षम बनाउन आवश्यक रहेको महानिर्देशक दासको भनाइ थियो ।
आयोजक संस्थाका अध्यक्ष इञ्जिनीयर रामदीप साहले स्वास्थ्य र सरसफाइका लागि स्वच्छ पानी आवश्यक भएकाले पानी आपूर्तिका लागि धारा काटिएको भए जोड्नपर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्ने, स्वास्थ्योपचारबाट निस्कने फोहरमैलाको सुरक्षित तवरले बन्दोबस्त गर्नुपर्ने सुझाव दिनुभयो ।
पर्याप्त सुरक्षित पानीको आपूर्तिका लागि वित्तीय व्यवस्था गर्न अर्थ मन्त्रालयसँग समन्वय गर्न र पानी आपूर्तिको व्यवस्था मिलाउन खानेपानी मन्त्रालयले नेतृत्व लिनुपर्ने उहाँको भनाइ थियो । वाटर एडका अनिल थमनले रोगको सङ्क्रमणबाट बच्न स्वचालित हात धुने केन्द्र सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाबाट यसको शुभारम्भ हुने उल्लेख गर्दै निकट भविष्यमा नै ७५ स्थानमा यसको स्थापना गरी आवश्यकताअनुसार विस्तार गरिने पनि उहाँले बताउनुभयो ।
पूर्वमन्त्री दीपक ज्ञवालीले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको पानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाको बीचमा सार्वजनिक बहस गर्ने मञ्चको अभाव खड्किएको बताउनुभयो ।
पूर्वविज्ञान, प्रविधि तथा वातावरणमन्त्री इञ्जिनीयर गणेश साहले सञ्चालन गर्नुभएको कार्यक्रममा खानेपानी तथा सरसफाइको क्षेत्रका प्राध्यापक, अनुसन्धानकर्ता, नीति निर्माता, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तित्वको सहभागिता थियो । राजधानीलगायत प्रमुख शहरमा मात्र नभई धेरै गाउँमा समेत खानेपानीकै अभाव रहेकाले हात धुने पानी जुटाउनु चुनौतीपूर्ण बनेकाले सरोकार भएका निकायले ध्यान दिनुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्