जन सरोकार

मध्यरातमा पैसा छर्ने नन्द-भाउजुको कोरोना पिसिआर परीक्षण नेगेटिभ

शुक्रबार राति जनकपुरको महावीर चोकमा सडकमा पैसा फालेर हिंड्ने दुई मुस्लिम महिलाको पिसिआर रिपोर्टमा कोरोनाभाइरस नेगेटिभ आएको छ । आधा रातमा सडकमा पैसा फालेर हिंडेका उनीहरुले कोरोना संक्रमण फैलाउन त्यसो गरेको आशंकामा प्रहरीले शनिबार साँझ पक्राउ गरेको थियो ।

पक्राउपछि प्रदेश प्रशिक्षण प्रयोगशालामा गरिएको आरडिटी रिपोर्ट पोजेटिभ आएकी महिलाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले जानकारी दिनुभएको छ ।

साहका अनुसार शनिबार प्रहरीले पक्राउ गरेको एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आए पनि पिसिआरमा उनीहरुको रिपोर्ट नेगेटिभ भेटिएको छ । त्यसै गरी सर्लाहीका १४ वर्षीय बालकको पिसिआर रिपोर्ट समेत नेगेटिभ नै आएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महाबीर चोकस्थित सडकमा दुई जना महिलाले पैसा फालेर भागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजु र नन्द हुन् ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो ।

सम्बन्धित खबर

Back to top button