कोरोना संक्रमित तेस्रो युवक निको भएर घर फर्के
धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर घर फर्किएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा जगदीश जोशीले जानकारी दिनुभयो ।
चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उहाँको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि अस्पतालले डिस्चार्ज गरेको डा. जोशीले बताउनुभयो ।
भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।
डिस्चार्जका क्रममा अस्पतालबाट स्वास्थ्यकर्मीहरुको टोलीले उनलाई फूलको गुच्छा हस्तान्तरण गर्दै बधाई दिएका थिए । प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पनि बधाई दिँदै सरकारले जारी गरेका नियम पालना गर्न, जनचेतना फैलाउने काम गर्न आग्रह गर्नुभयो ।
एम्बुलेन्स चढी आफ्नो गाउँ प्रतापपुर पुगेका उनले भारतबाट फर्केको २९ दिनपछि घरभित्र प्रवेश पाए । आँगनमा पुग्दा केही मिटर टाढाबाटै आमाबुवा र आफन्तलाई ढोगे। आमाका आँखामा खुसीका आँशु रसाए, बुवा भावुक भए।
छिमेकीले खुसीको दिनमा रुन नहुने भन्दै सम्झाए । राज अब थप १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।
नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म तीन जना उपचारबाट निको भई घर फर्किएका छन् ।
प्रतिक्रिया राख्नुहोस्