राजनीति

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताउनुभएको छ ।

मन्त्री भण्डारी

मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस सङ्गठनबाट केही अपवादबाहेक अल्पविकसित मुलुकले आशा गरेअनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।”

उहाँले निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसनधान संस्थालगायत सरोकारवालाको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी रहेकामा जोड दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना अध्ययन गरी वस्तुगत र देशगत निर्यात रणनीति तर्जुमा गरी अगाडि बढ्ने योजना आवश्यक देखिएको बताउनुभयो ।

उहाँले विश्व व्यापारका सन्दर्भमा सार्वजनिक–निजी संवाद कार्यक्रममा सबैलाई आ–आफ्नो क्षेत्रबाट कसरी औद्योगिक तथा व्यापारिक क्षेत्रमा जागरण ल्याउन सकिन्छ भनेर बृहत् बहस तथा छलफलको आवश्यकता औँल्याउनुभयो । मन्त्री भण्डारीले विश्व व्यापारको परिणाम अपेक्षाकृत आउन नसकेको उल्लेख गर्दै यसका लागि गम्भीर ढङ्गले राष्ट्रिय बहसको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “डब्लुटीओको मान्यतामा हामी सहमत छौँ, तर नेपालका सन्दर्भमा त्यो लागू हुन सकेको छैन, हामीले आयातित वस्तुको भारी बोक्नुपर्ने अवस्था छ, यो समस्याबाट हामी मुक्त हुन जरुरी छ ।” उहाँले विश्व बजारमा नेपालको उपस्थिति हुन नसकेको विषयमा मसिनो ढङ्गले अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रबाट अपेक्षा राखेर निर्माण गरिएका नीतिले अपेक्षाअनुसार सफलता नपाउँदा पनि विश्व व्यापारमा नेपालको उपस्थिती कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारकोतर्फबाट नीतिगत काम गर्नुपर्ने छ, हामी मन्त्रालयस्तरमा विश्व बजारमा कसरी जाने भनेर रणनीति तयार गर्दैछौँ, हामीले आफ्नो उत्पादनलाई बढाउने काम गर्नुपर्छ ।”

उद्योग सचिव कृष्णबहादुर राउतले विश्व व्यापार सङ्गठनको सदस्यता लिएको २० वर्ष भइसक्दा पनि नेपालले सही हिसाबले फाइदा लिन नसकेको बताउनुभयो । उहाँले विश्व व्यापार सङ्गठनको सदस्य भएपछि आश्वासन पाएअनुसार व्यापारमा नेपालले हिस्सा लिन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह, निर्यात व्यवसायी महासङ्घका उपाध्यक्ष गोविन्द घिमिरे, मन्त्रालयको बहुपक्षीय महाशाखाका सहसचिव लीलाप्रसाद शर्मालगायतले विश्व बजारमा नेपालको व्यापारमा पहुँच हुन नसक्दा र आयातमुखी व्यवसाय बढ्दो क्रममा रहेकाले व्यापार घाटा बढ्दो क्रममा रहेको बताउनुभयो ।

उहाँहरुले आयातमुखी व्यापारलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले ‘डब्ल्युटीओ सदस्यताः अपेक्षाहरू र उपलब्धिहरू’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.