राजनीति

भूकम्पपछिको राहत र उद्धारमा जस्तै कोरोना विरुद्ध एकजुट बनौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझैँ सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइँमा एकताबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको सन्देशमा भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम कोरोना भाइरस संक्रमण बिरुद्धको लडाईंका कारण गम्भीर असर परे पनि योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गर्दै सबैमा सो आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माणका काम द्रुत गतिका साथ भइरहेको अवस्थामा अदृश्य शत्रुका रूपमा विश्वमा फैलिइरहेको कोरोना भाइरस विरुद्धको लडाइँका कारण पुनर्निर्माण तथा पुनस्र्थापनाका काममा पनि गम्भीर असर परेको स्पष्ट पार्नुभएको छ ।

पाँच वर्षअघि २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकमा केन्द्रबिन्दु भई विनाशकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका पराकम्पबाट करिब नौ हजार जनाले ज्यान गुमाउनुपरेको थियो भने मुलुकले करिब सात खर्ब रुपियाँ बराबरको आर्थिक क्षति बेहोर्नुपरेको थियो ।

प्रधानमन्त्री ओलीले सन्देशमा त्यस विनाशकारी भूकम्पमा परी आफ्नो अमूल्य ज्यान गुमाउनुभएका सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्नुहुँदै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

भूकम्पले निजी आवास, पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदामा ठूलो क्षति पुर्याए पनि ‘पहिलेको भन्दा राम्रो र त्योभन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनर्निर्माण अभियान थालिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले बितेका पाँच वर्षमा भूकम्प प्रतिरोधी र आकर्षक कयौँ संरचना बनाउन सफल भएको बताउनु भएको छ ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ । करिब नौ हजार भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण मिलाइएको प्रधानमन्त्रीको सन्देशमा जनाइएको छ । ऐतिहासिक धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रूपमा नयाँनिर्माण कार्य अघि बढेको छ । धरहराको दसौँ तल्ला ढलान भइसकेको छ । सम्पदा क्षेत्रमा पुनर्निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका गरी ९१ प्रतिशत प्रगति हासिल गरिएको पनि सन्देशमा उल्लेख गरिएको छ ।

नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कुलको नवनिर्माण सम्पन्न भइसकेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । ‘यतिबेला विश्वका विभिन्न देश जस्तै हामी पनि कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा छौँ ’उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले कोरोना भाइरसविरुद्धको लडाइँमा पनि विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अहिले लकडाउनका कारण सिङ्गो अर्थतन्त्र ठप्प प्रायः नै रहेको र यसबाट केही हदसम्म भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम पनि प्रभावित हुन पुगे पनि आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अवरुद्ध पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले पुनर्निर्माण कार्यमा कुनै ढिलाइ नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.