भारतमा कोरोना संक्रमण : लकडाउन अघि २१.६ प्रतिशतको वृद्धि, लकडाउनपछि आठ प्रतिशतमा सीमित
लकडाउन अघि भारतमा कोरोना संक्रमितको वृद्धिदर २१.६ प्रतिशत थियो भने लकडाउनको एक महिनामा वृद्धिदर ८ प्रतिशतमा झरेको छ । लकडाउन सुरु हुँदाको समयमा २१.६ प्रतिशत रहेको कोरोना संक्रमितको वृद्धिदर लकडाउनको एक महिना पछि आउँदा ८.१ प्रतिशतमा झरे पनि सन्तोषको स्थिति भने छैन ।
टाइम्स अफ इन्डियाका अनुसार लकडाउन घोषणा अघि त्यहाँ कोरोना संक्रमितको संख्या करिब ५ सय थियो । तर कोरोना संक्रमितको सख्या अत्यधिक रहेको धेरै प्रमाणहरु थिए । त्यसैले मार्च २४ मा कोरोना संक्रमितको दैनिक वृद्धदर २१.६ प्रतिशत रहेको थियो ।
यदि लकडाउन नगरेको भए वा कोरोना संक्रमितको सुरुकै वृद्धिदर कायम रहेको भए अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्ने थियो । अहिले भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय जना रहेको छ ।
लकडाउनको पाँच हप्ताको तेस्रो दिनसम्म पनि कोरोना संक्रमितको वृद्धिदर ८ प्रतिशत हुनु पनि बढी हो । जबकी लकडाउनपछि जर्मनीमा कोरोना संक्रमितको वृद्धिदर जम्मा २ प्रतिशत छ भने अमेरिकामा ४.८ प्रतिशत मात्र छ ।
अहिलेको वृद्धिदर कायम रहने हो भने आउँदो हप्ता कोरोना संक्रमितको संख्या ४० हजार पुग्छ भने १५ दिनमा ७० हजार पुग्छ । त्यस्तै मे महिनाको अन्त्यसम्म संक्रमितको संख्या २ लाख ५० हजार पुग्ने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्