"ओलीतन्त्रमा नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने"
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितको टोलीले जनता समाजवादी पार्टीका सांसदको अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसर, काठमाडौंमा दिन गएको जाहेरी दर्ता अस्वीकार गरेपछि लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडेको टिप्पणी हुन थालेको छ ।
डा. भट्टराईसहित पूर्व उपप्रधानमन्त्री तथा मन्त्रीहरुको टोलीले आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी लिएर जाँदा दर्ता गर्न अस्वीस्कार गरेको हो ।
प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि डा. भट्टराईले ट्वीटमार्फत “यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने” भन्दै प्रश्न उठाउनुभएको थियो ।
जाहेरी दिन हालै एकता गर्ने सहमति गरेर जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुग्नुभएको थियो । प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि उहाँले “८ जना पूर्व प्रम, उप्रमरमन्त्री तथा ६जना वहालवाला सांसद र दर्जनौं पत्रकार सहित देशको राजधानीमै अपहरण जस्तो सरकारवादी मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले ठाडै म लिन्न जानेको गर भन्न सक्छ भने दूरदराजका गाउँमा निर्धानिमुखा जनताले कस्तो न्याय पाउलान् ? मुद्दा ठीक वेठीक त पछि छुट्टिन्छ नि भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत पूर्व विशिष्ठहरु जाहेरी दर्ता गर्न जाँदा परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका छन् । उहाँ नहुँदा एसपी सोमेन्द्र राठोरले पनि दर्ता गर्न नमिल्ने र दर्ता गर्ने नै भए घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाएका थिए ।
पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गर्दै आएका छन् । भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए । पछि यादवले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्