जन सरोकार

आजदेखि काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा स्थगन

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत सङ्क्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगित गरिएको जनाइएको छ ।



यो अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिसको सेवा भने सञ्चालन हुने प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको छ ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो छ । यसअघि प्रशासन कार्यालयले विभिन्न विषय समेटेर आवश्यक सावधानी अपनाउन सर्वसाधारणसँग अपिल गरिसकेको छ ।

यसै गरी सरकारले सार्वजनिक समारोह र सार्वजनिकस्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ । सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन तथा सार्वजनिकस्थलमा कुनै गतिविधि भए खबरदारीसहित कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचनामार्फत व्यक्ति व्यक्तिबाट गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिन र खबरदारी गर्न अनुरोध गरेको छ । मन्त्रालयले आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न, मास्कको प्रयोग नगर्ने व्यक्तिका समाचार वा सूचनालाई निरत्साहित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले हाल छिमेकी देशमा स्वास्थ्य सेवा प्रवाह प्रणाली तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र सङ्क्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न नसकिएको सन्दर्भ पेश गर्दै सबैलाई भौतिक दूरी कायम गर्न र हातको सरसफाइमा ध्यान दिन भनेको छ ।

पछिल्लो सङ्क्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्तै जोखिमपूर्ण रहेको र हालसम्म कोभिडको उपचार गर्न सक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेको अवस्थामा आफूले अरु सबैलाई सङ्क्रमणको आशङ्का राखेर मास्क लगाउने, भौतिक दूरी कायम राख्ने एवं हातको सफाइमा ध्यान दिन जरुरी रहेको उल्लेख गरेको छ ।

मन्त्रालयले सूचनामा भनेको छ, “आज जुन दुःखद दृश्य स्वास्थ्यकर्मीले दैनिक रुपमा देखिरहेका छन्, त्यो कसैको पनि परिवार आफन्तमा नघटोस् भन्नका लागि हामी बसैले सङ्क्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ ।

सम्बन्धित खबर

Back to top button