अर्थ

‘सलमन’ माछादेखि गङ्गटासमेत आयात भएपछि

नेपालमा आयात नहुने बस्तु के होला ? तथ्यांक र कागजी ढड्डामा जे देखाइए पनि कसैले पनि भन्न सक्दैनन् कि यो कुरामा आत्मनिर्भर छ भनेर । किनभने सियोदेखि दीयो र जनै समेत आयात हुने देशमा अन्य वस्तुको के कुरा ।

हुन पनि आयात हुने बस्तुहरुको सूची हेर्दा आश्चर्य पनि लाग्छ । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछादेखि गङ्गटा समेत नेपालमा आयात भएको पाइएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा दुई हजार ७१८ किलो सालमन माछा आयात भएको देखिन्छ ।नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो ।

त्यस्तै, विभागको विवरण अनुसार सोही माछाको अन्य प्रकारसमेत गरी पाँच हजार ९५० किलो नेपाल भित्रिएको छ । अमेरिकी डलरको सञ्चिति कम भइरहेको बेला विदेशी नियोग वा होटल रेष्टुरेन्टले माछा आयात गरेको अनुमान गर्न सकिन्छ ।

ती माछाको आयात मूल्य एक करोड ९१ लाख ५४ हजार बराबर छ । उक्त माछाको आयातबाट सरकारले रु ५९ लाख १३ हजार बराबरको राजश्व प्राप्त गरेको छ ।

त्यस्तै, नेपाल आयात गरिने वस्तुमा एक रमाइलो विवरण हो गङ्गटा । चालु आवको नौ महिनामा एक हजार ८०० किलो गङ्गटा नेपाल भित्रिएको छ । गाउँ घरका खेतबारीमा पाइने र नेपालीको खास पहिचानसमेत नगरेको गङ्गटालाई डरलाग्दो प्राणीका रूपमा लिइन्छ । उक्त जलप्राणीको आयात मूल्य १२ लाख ८२ हजार बराबर छ ।

त्यसबाट सरकारले रु तीन लाख ८४ हजार बराबरको राजश्व सङ्कलन गरेको छ । गङ्गटा, सर्पको टाउको पनि नेपाल भित्रिएको छ । विभागका अनुसार नौ महिनाको अवधिमा ६२ किलो पैठारी भएको छ । त्यसको लागत मूल्य एक लाख २९ हजार बराबर छ । सरकारले रु ३९ हजार राजश्व सङ्कलन गरेको छ ।

सुक्खा माछाको आयातको विवरण पनि त्यस्तै छ । विभागका अनुसार दुई लाख ९५ हजार ६१ किलो सुक्खा माछा आायत गर्दा सरकारले रु दुई करोड ९५ लाख दुई हजार बराबर राजश्व सङ्कलन गरेको छ । त्यस्तो माछाको आयात मूल्य नौ करोड ६६ लाख ८१ हजार बराबर छ ।

नेपालमा बढी मात्रामा आयात हुनेमा क्याटफिससमेत देखिएको छ । नौ महिनाको अवधिमा तीन लाख ४८ हजार ७५० किलो क्याटफिसको आयात मूल्य आठ करोड ३९ लाख सात हजार बराबर छ ।

त्यसबाट सरकारले रु दुई करोड ५६ लाख पाँच हजार बराबर राजश्व सङ्कलन गरेको छ । माछाको मासु मात्रै पनि आयात भएको विभागको विवरणमा उल्लेख छ । नौ महिनाको अवधिमा आठ हजार किलो त्यस्तो मासु आयात भएको छ । त्यसको आयात मूल्य १८ लाख ८७ हजार रहँदा सरकारले रु पाँच लाख ७६ हजार बराबरको राजश्व सङ्कलन गरेको छ ।

टुनाफिस ९१० किलो नेपाल भित्रिँदा आयातकर्ताले रु २१ लाख ९९ हजार बराबर लागत मूल्य तिरेका छन् । त्यसबाट सरकारले रु ६ लाख ७१ हजार बराबरको राजश्व सङ्कलन गरेको छ ।

विभागका अनुसार ५७ हजार १६८ किलो प्राउन नेपालमा पैठारी भएको छ । त्यसको लागत मूल्य तीन करोड ४८ लाख ६१ हजार छ । सरकारले राजश्व मात्रै रु एक करोड पाँच लाख २९ हजार सङ्कलन गरेको छ ।

झिङ्गेमाछा मात्रै तीन हजार २०० किलो आयात भएको छ । त्यसको लागत मूल्य एक करोड ३७ लाख एक हजार बराबर रहँदा रु ४१ लाख आठ हजार बराबरको राजश्व सङ्कलन भएको छ ।

अर्को रमाइलो विवरण पनि छ । नेपालमा वैधानिक तवरबाटै २०० वटा कछुवा आयात भएको छ । त्यसको लागत मूल्य ८३ हजार छ र सरकारले रु २५ हजार राजश्वसमेत उठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.