जोरपाटी–सुन्दरीजल सडकमा हिमपाइप बिछ्याउने र रुख काट्ने काम शुरु
आर्थिक वर्ष २०७२/७३ मा ठेक्का भएको काठमाडौंको जोरपाटी–सुन्दरीजल सडकको काम गत असार मसान्तमै सकिनुपर्नेमा मापदण्ड अनुसारको विस्तारमा सडक छेउका घरका कारण निर्माणको म्याद सकिने बेलासम्म काम सुरु समेत भएन ।
सात किमीको दूरीमा ८०० भन्दा बढी घर पर्ने कारणले म्याद सकिने बेलासम्म अनेक विवादका कारण काम समेत शुरु भएन । सडकको केन्द्रविन्दुबाट ११/११ मिटर सडक विस्तार गरी कालोपत्र गर्ने योजनामा सडक छेउका घर र संरचनाको मुआब्जाको विवादले सडक विस्तार भएन भने यसमा चर्को राजनीति पनि भयो ।
अन्ततः गोकर्णेश्वर नगरपालिकाको समन्वयमा केन्द्रविन्दुबाट दुवैतिर सात/सात मिटर विस्तार गर्ने रसार्वजनिक जग्गा भएका स्थानमा भने केन्द्रविन्दुबाट ११/११ मिटर सडक नै बनाइने योजना अनुसार काम सुरु भएका बेलाा लकडाउनले बिथोलियो ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार जोरपाटी–सुन्दरीजल सात किमी सडकको दुवै भागमा ढलका लागि हिमपाइप बिच्छ्याउने र रूख काट्ने काम शुरु भएको छ, यो मार्गमा ६७ रूख काट्नुपर्नेमा तीन दिनअघि देखि काम शुरु गरी २१ रूख काटिएको छ ।
पाइप बिच्छ्याउन आठ र रूख काट्न छजना कामदार परिचालन गरिएको छ । काम शुरु भएको तीन दिनमा १०० मिटर सडकको दुवैतिर हिम पाइप राखिएको आयोजनाले जनाएको छ । बन्दाबन्दी शुरु हुनुअघि दुई किमी सडकको दुवैतिर हिम पाइप राखिएको थियो ।
सडकको केन्द्रविन्दुबाट ११/११ मिटर सडक विस्तार गरी कालोपत्र गर्ने योजना भए पनि गोकर्णेश्वर नगरपालिकाको समन्वयमा केन्द्रविन्दुबाट दुवैतिर सात/सात मिटर विस्तार गर्ने गरी सहमति भएको छ । सार्वजनिक जग्गा भएका स्थानमा भने केन्द्रविन्दुबाट ११/११ मिटर सडक नै बनाइने जनाइएको छ ।
आगामी असार मसान्तसम्म सडकको म्याद थप गरिएकामा हालसम्म २२ प्रतिशतमात्र भौतिक प्रगति भएको सूचना अधिकारी देवकोटाले बताउनुभयो । असार मसान्तसम्म काम नसकिने भएपछि अर्को एक वर्ष म्याद थपको प्रक्रिया पनि शुरु भइसकेको छ ।
नगरपालिकाको मुख्य सडक भएकाले छिटो सम्पन्न गर्न रुख काट्ने र ढल हाल्ने काम सहजीकरणका लागि सहयोग नगर प्रमुख सन्तोष चालिसे बताउनुहुन्छ । रुख काट्ने र ढल हाल्ने काम मात्र सक्दा पनि धेरै काम हुने भएकाले रोगको सङ्क्रमणबाट बच्न सुरक्षाका उपाय अपनाएर काम भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्