राजनीति

चितवनका गठबन्धन दलसँग ‘प्रचण्ड’को भेट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहजिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गर्नुभएको छ । भरतपुर महानगरपालिकामा गठबन्धनबाटै वागी उम्मेदवारी भएपछि प्रचण्डले सो भेट गर्नुभएको हो ।

छोटो समयका लागि यहाँ आउनुभएका दाहालले नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र भरतपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवारसमेत रहनुभएका नगर सभापति चित्रसेन अधिकारीलाई भेट गर्नुभएको हो ।

उहाँले समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाललाई पनि भेट गर्नुभएको थियो । भेट पछि कांग्रेस सभापति खनालले गठबन्धनलाई सशक्त बनाएर अघि बढाउने विषयमा छलफल भएको बताउनुभयो । दाहालले वडा तहसम्म मिलाएर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको प्रमुख पदमा वागी उम्मेदवारीको विषयमा पनि छलफल भएको जनाइएको छ ।

खनालले भन्नुभयो, “विस्तृत छलफल १६ गते पछि गर्ने विषयमा कुराकानी भएको छ ।” दाहाललाई भेटेपछि बागमती प्रदेशका मन्त्रीसमेत रहेका समाजवादीका नेता कृष्ण खनालले आफूसँगको भेटमा दाहालले वडा तहसम्म मिलाउन र असन्तुष्टलाई सम्झाउन आग्रह गरेको बताउनुभयो ।

दाहालले चितवनमा रहँदा माओवादी केन्द्रका नेता कार्यकर्तासँग समेत भेटघाट गर्नुभएको थियो । दाहालको उपस्थितिमा पार्टीको निर्वाचनसँग सम्बन्धित योजना निर्माणका विषयमा छलफल भएको थियो । छलफलमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला र महानगरका पदाधिकारी सहभागी भएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.